कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले झापाको बाहुनडाँगीस्थित प्रसादगौंडाबाट हात्ती प्रभावित क्षेत्रको पदयात्रा सुरू गरेका हुन् ।

जीव–जनावर, जंगल, जनतामैत्री जिम्मेवार जनप्रतिनिधि भन्ने नारासाथ मेची खोला तीर हुँदै हात्ती नेपालतर्फ प्रवेश गर्ने नाकाबाट मुख्यमन्त्री कार्कीले यात्रा सुरु गरेका हुन् । झापाको बाहुनडाँगीबाट आज सुरु भएको यात्रा फागुन १६ गते उदयपुर जिल्लाको बेलसोतमा पुगेर सम्पन्न हुनेछ।

मुख्यमन्त्री कार्कीले जैविक मार्गमै पर्ने सात स्थानमा रात्रिकालीन विश्राम गर्नेछन्। मुख्यमन्त्रीसहितको टोलीले झापाबाट उदयपुरसम्म कूल २४३ किलोमिटर पैदल यात्रा गर्दा चार जिल्लाका २३ स्थानीय तहमा पुगेर हात्ती प्रभावितसँग छलफल गर्नेछन्।

यदयात्रा शुभारम्भका क्रममा मुख्यमन्त्री कार्कीले हात्ती र मानवबिचको द्वन्द्व घटाउन र समस्या पहिचान गर्न पदयात्रा सुरू गरिएको बताए।  ‘जनता र हात्ती दुबैलाई दुःख नहुने गरी समाधान खोज्न हामी गाउँ बस्तीमा आफै आएका हौं,’ उनले भने,‘छलफल गरेर योजना बनाउन र बजेट बनाउन आएका हौं।’

पदयात्रामा प्रदेशका सरकारी एवं गैरसरकारी निकाय, संरक्षणकर्मी, सुरक्षाकर्मी, सञ्चारकर्मी, हात्तीविज्ञ, नागरिक समाज एवं आम नागरिकहरुको सहभागिता छ।

पछिल्लो समय मानव हात्तीबिच द्वन्द्व बढ्दै गएको छ। वर्षेनी भारतको आसामबाट मेचीनदी पार गरी झापा जिल्लाको बाहुनडाँगीका विभिन्न चारवटा गौंडाबाट नेपाल प्रवेश गर्छन्। चार महिना अघि नेपाल प्रवेश गरेको हात्तीको एउटा हुल मोरङ सुनसरीको जंगल क्षेत्रमा छन्।