मुगुसहित कर्णालीका हिमाली र उच्च पहाडी क्षेत्रमा गुराँस फुल्न थालेका छन् ।
चैत महिनामा फुल्ने लालीगुराँस यो वर्ष माघमै फुलेर ढकमक्क भएको छ । गुराँस फुल्ने मौसम फागुनदेखि चैत,वैशाख महिना भए पनि माघ महिनाको पहिलो सातादेखि वनभरि ढकमक्क गुराँस फुलेपछि मुगुका स्थानीय बासी अचम्मित भएका छन् ।
छायानाथ रारा नगरपालिका-११ का स्थानीय दान बहादुर सावतले चैत वैशाखमा लालीगुराँस फुल्ने गर्थ्यो यो वर्ष माघमै फुल्यो आश्चर्य भएको छ भन्दै मुगुमा गुराँसजस्तै अन्य बोटबिरुवामा पनि नयाँ पालुवा लाग्न थालेको र चैतमा फुल्ने स्याउ पुसमा नै फुलेर स–साना दाना समेत लागिसकेको बताए ।
यो वर्ष हिमपात र पानी पनि समयमै परेको छैन । जलवायु परिवर्तनको असरका कारण हिमाली भेगमा मौसम अगावै गुराँस फुल्ने र फलफूलका बोटमा दाना लाग्न थालेका छन् ।
अघिल्ला वर्षहरूमा मङ्सिर पुसमा हिमपात हुने गरेको भएपनि यो वर्ष मुगुमा छुटफुट हिमपात मात्रै भएको र हिउँदे वर्षा पर्याप्त नहुँदा खेतीपाती राम्रो नहुने स्थानीय बताउँछन् ।