मोरङको सुन्दरहरैँचा नगरपालिकामा पशुचौपायालाई लाग्ने रोगबाट बचाउन नगरको दिप्सन कृषि फार्मबाट निःशुल्क खोप अभियान कार्यक्रम सुरू गरिएको छ ।

अभियानको शुभारम्भ गर्दै नगरप्रमुख केदारप्रसाद गुरागाईले कृषकले पालेका पशु चौपायामा लाग्ने रोग नियन्त्रण गरि यसबाट हुने क्षति कम गर्न खोप अभियान सञ्चालन गरिएको बताए। यसका साथै पशु नगर अस्पताल सञ्चालनको अन्तिम तयारीमा रहेको उल्लेख गरे ।

नगर प्रमुख गुरागाईले एकैपटक नगरको १२ वडामै खोप अभियान सुरू हुनेछ, सम्भावित महामारी फैलिन नदिनका लागि पशुचौपायमा पि.पि.आर तथा खोरेत रोग विरूद्धको खोप सुरू गरिएको जानकारी दिए।

गाईभैँसीलाई खोरेत बिरूद्धको खोप लगाईने छ भने बाख्रालाई पि.पि.आर बिरूद्धको खोप लगाइने नगर पशु प्रवर्द्धन शाखा प्रमुख किशोर कार्कीले बताए । उनले गर्भिणि साथै तीन महिना भन्दा कम उमेरका चौपायामा भने यो खोप नलगाईने उल्लेख गरे।

डाक्टर र प्राविधिक सहित २२ जनाले सबै वडामा रहेका प्रत्येक किसानका घर-घर पुगेर खोप लगाउने छ। जसमा ६५ हजार बाख्रा, २५ हजार गाई, ३ हजार ५ सय भौंसीमा यो खोप लगाउन लागिएको हो ।

यस्तै,आगामी कार्यक्रममा १४ हजार बङ्गुरलाई खोप लगाइने भएको छ।