काठमाडौँको चन्द्रागिरी नगरपालिका–११ स्थित सिप्रदी बल्खु पुलमा प्रहरीको भ्यानबाट खसेर सहायक हवल्दारको मृत्यु भएको छ।

प्रहरी प्रभाग बलम्बुमा कार्यरत सहायक हवल्दार हेमराज एलजीको उपचारको क्रममा सशस्त्र प्रहरी अस्पतालमा मृत्यु भएको हो । बिहीबार राति सवा ११ बजे प्रहरीको बा १ झ ७४१८ नम्बरको भ्यानबाट उनी सड्कमा खसेका थिए।

ड्युटी सकेर सतुंगल नजिकैको डेरामा फर्किने बेलामा भ्यानको पछाडी बसेका हेमराज ओर्लने क्रममा भ्यानबाट लडेर टाउकोमा चोट लागेको उपत्यका प्रहरी कार्यालयका एआईजी दिपक थापाले बताए।

प्रहरीले शव पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा पठाएको छ। भ्यानको चालक सहायक हवल्दार रामप्रसाद यादवलाई प्रहरीले पक्राउ गरेको छ। 

स्रोतका अनुसार बलम्बुका इन्स्पेक्टर सुरेन्द्र श्रेष्ठ र सवारी चालकका बीचमा केही दिनदेखि विवाद भइरहेको थियो । मृतक सहायक हवल्दार सुर्खेत गुर्भाकोट नगरपालिका–१२ सुवाकोटका स्थानीय रहेका छन्।