पूर्वप्रधानमन्त्री स्व. सुशील कोइरालाको आठौँ स्मृति दिवसका अवसरमा आज बिहान बिराटनगरको महेन्द्र (जनआन्दोलन) चोकदेखि बगरगाछीसम्म चार किलोमिटरको महिला तथा पुरुषको खुल्ला दौड प्रतियोगिता भएको छ।
प्रतियोगितामा महिलातर्फ अंशु मण्डल, तुलसा खतिवडा र रोशनी साह क्रमशः प्रथम, द्वितीय र तृतीय भएका छन्। यसैगरी, प्रतियोगितामा पुरुषतर्फ अमर यादव, याङ्देव राई र सुनिल मेहता क्रमशः प्रथम, द्वितीय र तृतीय भएका छन्।
बिराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले विजयीलाई नगदसहित प्रमाणपत्र वितरण गर्दै खेलकुदका लागि आवश्यकपर्ने पूर्वाधार, प्रशिक्षण एवं सामग्री उपलब्ध गराउन नगरले सधैँ सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
उहाँले खेलकुदका माध्यमबाट नगर, प्रदेश र मुलुकको नाम विश्वमा राख्न खेलाडीले निरन्तर अभ्यास गर्नुपर्नेमा जोड दिनुभयो।
प्रदेश खेलकुद विकास बोर्डका सदस्य सचिव हंशराज वाग्ले र कार्यक्रम संयोजक प्रकाश दाहालले खेलकुदका माध्यमबाट आजका युवालाई अनुशासित बनाई मुलुकको विकासमा लाग्न योग्य बनाउनुपर्ने धारणा राख्नुभयो ।
आज भएको प्रतियोगितामा महिला र पुरुष गरी ३३ जनाको सहभागिता थियो ।