कोशी प्रदेश सरकार र पहिचान पक्षधरबीच ५ बुँदे सहमति भएको छ ।

शुक्रबार भएको दुवै पक्षबीचको वार्तामा ५ बुँदे सहमति भएको हो । पहिचान पक्षधरसँगको वार्ता सकारात्मक रूपमा अघि बढेको वार्ता समितिका संयोजक भौतिक पूर्वाधार विकासमन्त्री कमलप्रसाद जबेगुले बताउनुभयो।

प्रदेश सरकार र पहिचान पक्षधरले संविधानसम्मत ढंगले प्रदेश नंम्बर १ को पुनः नामकरणका लागि राजनीतिक वातावरण बनाउन संयुक्त रूपमा पहल गर्ने सहमति समेत भएको छ।

पहिचान पक्षधरले निषेधको आन्दोलन फिर्ता लिएर शान्तिपूर्ण आन्दोलन गर्ने, आन्दोलनमा घाइते भएकाहरूको निःशुल्क उपचार, आन्दोलनकारीहरूमाथि लगाइएको मुद्दा प्रदेश सरकारले फिर्ता लिने र फाल्गुन १० गते अगावै दुबै पक्षको सहमतिमा पुनः वार्ताका लागि मिति तोक्ने सहमति भएको छ ।