बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हिनामिना गरेको आरोपमा पक्राउ परेका व्यवसायी अरुणकुमार चौधरीसँग बयान लिन थालिएको छ ।

जिल्ला सरकारी वकील कार्यालयका प्रमुख सन्देश श्रेष्ठको अगुवाइमा अनुसन्धान अधिकृतहरुले बयान लिएका हुन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सिआइबीका प्रवक्ता प्रहरी उपरीक्षक नवराज अधिकारीले कानुनी प्रक्रिया अन्तर्गत नै बयान लिन थालिएको जानकारी दिनुभयो ।

चार दिन म्याद थप भएकाले त्यही म्याद भित्र रहेर अनुसन्धान भइरहेको उहाँले बताउनुभयो । बयानका क्रममा चौधरीले कानुन विपरीत भएको पाइएमा जग्गा फिर्ता गर्न आफू तयार रहेको बताएका छन् ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबीले) तीन महिनाको अनुसन्धान पछि बाँसबारी छाला जुत्ता कारखानाको जग्गा प्रकरणमा चौधरीलगायत तीन जनालाई यही माघ १८ गते पक्राउ गरी अदालतबाट म्याद थपेर अनुसन्धान गरिरहेको छ ।

उक्त प्रकरणमा काठमाडौँ महानगरपालिका-२६ का तत्कालीन च्याम्पियन फुटवयेर लिमिटेड (पछि प्रालि बनाइएको ) का शेयर धनी तथा सञ्चालक ६० वर्षका अरुणकुमार चौधरीसहित काठमाडौँ महानगरपालिका-९ बस्ने तत्कालीन बाँसवारी छाला जुत्ता कारखानाका कार्यकारी अध्यक्ष ८० वर्षका अजितनारायण सिंह थापा र महोत्तरी घर भएका च्याम्पियन फुटवेयर प्रा.लि तथा सिजी चाँदवाग रेसिडेन्सी प्रालिका सञ्चालक सञ्जय ठाकुरलाई पक्राउ गरी म्याद थपेर आवश्यक अनुसन्धान अघि बढाइएको छ ।

उनीहरुलाई अनुसन्धान अधिकृतले क्रमैसँग बयान लिने छन् । सिआइबीका प्रहरी वरिष्ठ उपरीक्षक दिनेशराज आचार्यले भन्नुभयो, “पछिल्लो अबस्थामा प्रहरीले अनुसन्धान नगरिकन व्यवसायिक घरानालाई पक्राउ गरियो भन्ने कुराहरु आएको छ, लामो समयको अनुसन्धान पछि नै पक्राउ गरिएको हो ।”