बागलुङको सुन्तला गाउँका रुपमा परिचित सिगानाका किसानले यसवर्ष सुन्तला बिक्री गरेर रु तीन करोड भित्राएका छन् ।

गतवर्ष भन्दा यस वर्ष सिगानामा सुन्तला उत्पादनमा वृद्धि भएको किसानको भनाइ थियो । यस वर्ष उनीहरुले गत वर्षकै मूल्यमा बगैँचा नै व्यापारीलाई बिक्री गरेका थिए । बोटबाटै सुन्तला बिक्री गर्दा सरदर मूल्य प्रतिकेजी रु ५० पर्न गएको छ

यस वर्ष उत्पादित यहाँको सुन्तला ९० प्रतिशत बजार पुगिसकेको छ । गणेश कृषि व्यावसायिक सहकारीमार्फत सुन्तलाको बजारीकरण समेत हुँदै आएको छ । 

बागलुङ नगरपालिका–८ सिगानाका किसानले सुन्तला बिक्रीबाट रु. तीन करोड भित्राउन सफल भएका हुन् । सहकारीले सङ्कलन गरेको तथ्याङ्कअनुसार गत वर्ष सुन्तला बिक्रीबाट रु. दुई करोड ७५ लाख भित्राइएको थियो 

यस वर्ष रु. तीन करोड ५० लाखको सुन्तला बिक्री गर्ने लक्ष्य रहेपनि मूल्य वृद्धि नहुँदा करिब तीन करोडको मात्रै बिक्री भएको किसानले बताएका छन् । 

अहिले सहकारीले सुन्तला बिक्रीको तथ्याङ्क सङ्कलन गरिरहेको सहकारीका सल्लाहकार एवं अगुवा सुन्तला किसान शिवकुमार खड्काले बताउनुभयो । “गत वर्ष तीन करोडको अनुमान गरिएकामा सबै तथ्याङ्क रु. दुई करोड ७५ लाख गाउँ भित्रिएको पाइयो ।” “अहिले गत वर्ष भन्दा केही बढी आम्दानी भएको छ।”

सिगाना गाउँको साविक ३, ४, ५ र ७ वडामा सुन्तला राम्रो उत्पादन हुने खड्काले जानकारी दिनुभयो । “सहकारीमा मात्रै आबद्ध एक सय ५० किसान सुन्तला खेतीमा छन् ।” “सहकारीमार्फत ४० हजार नयाँ बिरुवा अनुदानमा वितरण गरिरहेको थियो । अबको पाँच वर्षमा रु. पाँच करोडको सुन्तला बिक्री गर्ने लक्ष्य रहेको छ ।”