मुग्लिन–पोखरा सडक विस्तार योजनाअन्तर्गत तनहुँमा १९.५ किलोमिटर सडकखण्ड कालोपत्र भएको छ। तनहुँको आँबुखैरेनी र बन्दीपुर खण्डमा हालसम्म १९.५ किलोमिटर सडकखण्ड कालोपत्र सकिएको हो।
सडक योजना पूर्वी खण्डका इञ्जिनियर विष्णुप्रसाद पाण्डेले बन्दीपुर गाउँपालिका–१ नाहालादेखि छिर्कने, आँबुखैरेनी गाउँपालिका–१ सत्रसय, बरादी खण्डमा कालोपत्र सकिएको जानकारी दिनुभयो। त्यसमध्ये ७.२ किमी खण्डमा दुईतर्फी नै कालोपत्र सकिएको छ।
मुग्लिन–पोखरा सडक विस्तार आयोजनाले दुई खण्डमा सम्झौता गरेर काम गरिरहेको छ। पूर्वी खण्डको कामका लागि वि.सं. २०७७ माघ १७ गते सम्झौता भई २०७८ वैशाख २ गतेदेखि काम सुरु भएको थियो। ४१.४५ कि.मी खण्डमा तीन ठूला र चार साना पुल निर्माण गरिनेछन्। पूर्वी खण्डको म्याद वि.सं. २०८१ वैशाखसम्म रहेको छ।
वि.सं. २०२६ मा रेखाङ्कन भएको सडकमा सवारीको चाप बढ्दै गएपछि एशियाली विकास बैंक (एडिबी)को ऋण सहयोगमा सडक चार लेनको बनाउन लागिएको आयोजना कार्यालयले जनाएको छ। पूर्वी खण्डको ठेक्का रू.६ अर्ब २१ करोड ३१ लाख १३ हजारमा र पश्चिम खण्डको ठेक्का रू.७ अर्ब ४० करोड ४६ लाखमा लागेको छ।
पश्चिम खण्डअन्तर्गत जामुनदेखि पोखरासम्म वि.सं. २०७८ जेठ २ गते सम्झौता भई वि.सं. २०७८ भदौ १२ गतेदेखि काम सुरु भएको थियो। यो खण्डको म्याद वि.सं. २०८१ भदौसम्म रहेको छ।
चार लेनको बन्दा सडक सीमा दुईतर्फी २५-२५ मिटर हुनेछ । बाक्लो बस्ती भएका स्थानमा ४१ मिटर चौडाइको सडक बन्नेछ । डिजाइनअनुसार तनहुँको दमौली र डुम्रे बजारमा ४१ मिटरको सडक बन्नेछ। दुलेगौडादेखि खैरेनीटार बजारसम्म, कोत्रे बजार क्षेत्र र कास्कीको गगनगौडादेखि पोखरासम्म सडकको चौडाइ ४६ मिटरको हुनेछ।