जिल्लाका विभिन्न स्थानमा दैनिक हुल बाँधेर र एक्लै आउने जङ्गली हात्तीले घर भत्काएपछि अधिकांश बासिन्दा माघको चिसोमा कसरी रात कटाउने भन्ने चिन्ताले पिरोलिन थालेका छन्।

कचनकवल, बुद्धशान्ति, हल्दिबारी गाउँपालिका, दमक, शिवसताक्षी, भद्रपुर र अर्जुनधारा नगरपालिकाका विभिन्न स्थानमा रैथाने जङ्गली हात्तीले दैनिक गाउँ पसेर घर भत्काउने र अन्न खाने गरेकाले स्थानीयवासी धन जोगाउने कि ज्यान भन्ने चिन्तामा परेका छन्। 

हात्तीले पक्की घरभन्दा टिनको छानो र टाटीले बेरेको घरलाई बढी निशाना बनाउने गरेको छ। हात्तीले घर भत्काउनुका साथै दुःख गरेर वर्षभरि खानाका लागि भण्डारण गरेको धान, चामल, मकै खाने, छरिदिने हात्ती पीडितको गुनासो छ। 

कचनकवल गाउँपालिका–३ का ईश्वरसिंह राजवंशी, फाकताल राजवंशी, देवलाल राजवंशीको टिनको छानो भएको घर भत्काएर एकै दिन भण्डारण गरेको अन्नसमेत खाएको थियो। स्थानीय दुर्गाभिट्टा सामुदायिक वनमा दिनभर बस्ने हात्तीले मध्यरातमा गाउँ पसेर घर भत्काइदिँदा उनीहरु सङ्कटमा परेका छन्।

 जिल्ला प्रहरी कार्यालय झापाका अनुसार चालु आर्थिक वर्षको २०८०/०८१ को साउनदेखि पुस मसान्तसम्ममा जङ्गली जनावरबाट रु.४८ लाख ५० हजार ६ सय ४० बराबरको भौतिक क्षति भएको छ।

सो अवधिमा जङ्गली जनावरले जिल्लाका ७२ स्थानमा ५९ घर, दुई गोठ भत्काएको जनाएको छ। हात्तीले घर भत्काएमा सरकारले रु.१० हजारसम्म क्षतिपूर्ति दिने व्यवस्था गरेको डिभिजन वन कार्यालय झापाले जनाएको छ।