भोजपुर नगरपालिका–१० को महभिर खोलामाथि मोटरेवल पक्की पुल निर्माण सम्पन्न भएको छ। महभिर र खुरीला गाउँलाई जोड्ने महभिर खोलामा रु.दुई करोड सात लाख लागतमा पक्की पुल निर्माण गरिएको हो।
बीस मिटर लम्बाइ रहेको पुलको सुनसरी–४ का प्रतिनिधिसभा सांसद तथा पूर्वमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले उद्घाटन गर्नुभयो। त्यस अवसरमा उहाँले यस क्षेत्रको विकासमा आफूले महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।
खोलामा काठे पुलबाट ओहोरदोहोर गर्दा स्थानीयवासीले जोखिमपूर्ण यात्रा गर्दै आएका थिए। धेरै मेहनतपछि यहाँ पुल लगाउन सफल भएको स्थानीयवासी नेपाली कांग्रेसका जिल्ला सचिव तथा कांग्रेसको केन्द्रीय विभागअन्तर्गत नीति अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानका विषय विज्ञ चक्रबहादुर कार्कीले बताउनुभयो।
उहाँले महभिर खोलामा पुल नहुँदा धेरै समस्या थियो, धेरै समयको मेहनतपछि यहाँ पक्की पुल निर्माण गर्न सफल भएको र अब हामीलाई आवतजावतमा सहजता छपिएको छ। म आफैँले पनि धेरै ठाउँमा पहल गरेपछि निर्माण गर्न सफल भएको बताउनुभयो ।
काफ्ले–महभिर–खुरिला सडक खण्डमा पर्ने यो स्थानमा २०७५ सालबाट पुल निर्माण सुरु गरिएको थियो। नेपाल सरकार सरकारको आर्थिक सहयोग र स्वीस सरकारको प्राविधिक सहयोगमा पुल निर्माण गरिएको हो।