भारतबाट १३ वटा ट्रकमा ल्याइएका ५ हजार ४६० बोरा पोटास खाद बारा प्रहरीले बरामद गरेको छ। जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता तथा सूचना अधिकारी डीएसपी दधिराम न्यौपानेले विशेष सूचनाका आधारमा बाराका छुट्टाछुट्टै दुई स्थानबाट सो परिमाणको पोटास खाद बरामद भएको जानकारी दिनुभयो।
किसान ट्रेडर्स भारतको उक्त पोटास खाद १३ वटा ट्रकमा लोड गरी वीरगन्जदेखि राजविराज, विराटनगर, बिर्तामोडतर्फ लगिँदै गरेको सूचना प्राप्त अनुसार प्रहरी चौकी पथलैयाले जीतपुरसिमरा उपमहानगरपालिका१ स्थित पथलैया चोकबाट ५ वटा ट्रक र इलाका प्रहरी कार्यालय निजगढले पथलैया चोकबाट थप ८ ट्रक नियन्त्रणमा लिएको थियो।
नियन्त्रणपछि १३ वटा ट्रकबाट ८७ लाख ३६ हजार बराबारको पोटास खाद बरामद गरेको र त्यसको कर सम्बन्धी विवरण शंकास्पद रहेको न्यौपानेले बताउनुभयो। प्रहरीले यसबारे थप अनुसन्धान भइरहेको जनाएको छ।