जीवन विकास लघुवित्त वित्तीय संस्थाले मोरङको धनपालथान गाउँपालिकाको दुई सय घर धुरी रहेको वडा नं.३ र ४ पर्ने वेतौनी गाउँलाई इको भिलेज(वातावरण मैत्री गाउँ)बनाउने भएको छ ।
परम्परागत कृषि पेशा गर्ने यी परिवारको आर्थिक हैसियत दुई वर्षमा सुधार गर्ने उद्देश्यले लघुवित्तले इको भिलेज निर्माणको काम सुरु गरेको हो । स्थानीयको आर्थिक हैसियत उकास्न लागि पाँच वटा सूचकमा काम थालिएको लघुवित्तका नायब कार्यकारी अधिकृत दामोदर रेग्मीले बताए । उनका अनुसार आर्थिक, प्राविधिक, सीप विकास, बजारीकरण र वातावरण संरक्षणका लागि लघुवित्तले काम गर्नेछ ।
उनका अनुसार गाउँका बासिन्दाका लागि पशुपालन र तरकारी खेतीका लागि सहुलियत व्याजमा संस्थाले ऋण उपलब्ध गराउनेछ । किसानले पालेका पशुको बिमा र उपचारमा संस्थाले सहयोग गर्नेछ । खेतीका लागि किसानको सीप विकासमा काम गर्नेछ । किसानले उत्पादन गरेको दूध र कृषि उपजको बजारीकरणमा संस्थाले सहजीकरण गरिदिनेछ ।
गैर नाफा मूलक संस्था जीवन विकास समाजले धनपालथान मै प्राङ्गारिक मल र बायोग्यास उद्योग स्थापना गरेको छ। करिब १० करोड लागतमा स्थापित उद्योगले गाउँका किसानबाट गोबर खरिद गर्ने योजना बनाएको छ। गाउँमा कच्चा पदार्थ नभेटेका कारण उद्योगले विराटनगर र आसपासका क्षेत्रबाट गोबरलगायतको कच्चा पदार्थ संकलन गरिरहेको छ।
वातावरण संरक्षणका लागि संस्थाले स्थानीयलाई धुवाँरहित विद्युतीय चुल्हो प्रयोगका लागि प्रोत्साहन गर्नेछ । कृषि र पशु पालनको आम्दानीले किसानको जीवनस्तर उकास्ने रेग्मीले बताए।‘पशु पालनका लागि सहुलियत ऋण दिने र दूध र गोबर बिक्रीबाट किसानले आम्दानी गर्छन’उनले भने,‘आम्दानी बढेपछि जीवनस्तरमा सुधार आउनेछ।’

स्थानीय किसानसँग छलफलका क्रममा जीवन विकासका संस्थापक तथा मोरङ क्षेत्र नम्बर ५ का सांसद योगेन्द्र मण्डलले दुई वर्ष भित्र वातावरण मैत्री नमुना गाउँ बन्ने बताए । वेतौनापछि धनपालनाथ गाउँपालिका र मोरङ क्षेत्र नम्बर ५ लाई नै नमुना बनाउने योजना रहेको उनले बताए ।
कृषि र पशुपालनमा आत्मनिर्भर बनाउनका लागि गाउँलाई इको भिलेज बनाउन लागिएको उनको भनाई छ । ‘ भोलि कसैले उदाहरण दिदा मोरङ क्षेत्र नम्बर ५ जस्तो बनाउँछु भन्ने गरी नमुना बनाउने योजना छ,’ उनले भने,‘ पहिलो चरणमा वेतौना गाउँलाई इको भिलेज बनाउन साथ दिनुहोस्, त्यसपछि वडा र पालिका हुँदै क्षेत्रलाई बनाउनुपर्छ ।’
मोरङ क्षेत्र नम्बर ५ को प्रदेशसभा १ का सांसद गयानन्द मण्डलले किसानको जीवनस्तर उकास्ने इको भिलेजको योजना कार्यान्वयनका लागि गाउँका नागरिक अग्रसर हुनुपर्ने बताए । सहुलियत ऋण र बजारीकरणको जिम्मा संस्थाले नै लिने भएकाले किसानलाई फाइदा पुग्ने उनले बताए ।
धनपालथान गाउँपालिका अध्यक्ष जिवछ गच्छदारले जीवन विकासले अघि सारेको इको भिलेजको योजनामा पालिकाले सहकार्य गर्ने बताए । कृषि र पशु पालक किसानका लागि प्राविधिकसँगै अन्य सहयोग गर्ने उनले बताए । सबैको उद्देश्य किसानको जीवनस्तर उकास्ने रहेको बताउँदै वातावरण मैत्री गाउँको योजनाले वेतौनाको जीवनस्तर सुधार गर्ने बताए ।
धनपालनान गाउँपालिका–३ का अध्यक्ष नागेश्वर मण्डल र वडा नम्बर ४ का अध्यक्ष रामु चौधरीले इको भिलेज निर्माणको योजनामा वडाले पनि सहयोग गर्ने बताए । हंशबाहिनी आधारभूत विद्यालयका प्रधानाध्यापक गौरीशंकर मण्डल र गौतमबुद्ध आधारभूत विद्यालयकी प्रधानाध्यापक सुनिता मुर्मुले सहुलियतपूर्ण ऋण सहयोगमा सुरु हुने व्यावसायिक कृषि र पशु पालनको योजनाले किसानलाई फाइदा हुने बताए ।

लघुवित्तका प्रमुख कार्यकारी अधिकृत संजयकुमार मण्डलले ग्रामीण क्षेत्रको आर्थिक विकासका लागि इको भिलेजको योजना अघि सारेको बताए । पहिलो चरणमा वेतौनाबाट इको भिलेज कार्यक्रम सुरु गरेको बताउँदै उनले अन्य क्षेत्रमा पनि विस्तार गर्ने बताए ।‘सामाजिक जिम्मेवारीसहित समुदायलाई आत्मनिर्भर तथा वातावरण मैत्री बनाउनका लागि यो योजना सुरु गरेका छौं’ उनले भने,‘ग्रामीण क्षेत्रको विकासका लागि यो कार्यक्रम अपरिहार्य छ।’हुलाकी राजमार्ग दक्षिणको समुदाय आर्थिक हिसाबले पछि परेको बताउँदै उनले इको भिलेजले सामाजिक चेतना र जीवनस्तरमा सुधार आउने बताए।




















