नेपाल प्रहरीका अतिरिक्त महानिरीक्षक (एआईजी) दानबहादुर कार्की महानिरीक्षक (आईजीपी) नियुक्त भएका छन्।
सोमबार बसेको मन्त्रिपरिषद् बैठकले उनलाई यही कार्तिक २७ गतेदेखि लागू हुने गरि नेपाल प्रहरीको आईजीपी नियुक्त गर्ने निर्णय गरेको सरकार प्रवक्ता सञ्चारमन्त्री जगदीश खरेलले जानकारी दिए।
कार्की हाल काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रमुखका रूपमा कार्यरत छन्। कार्कीसँगै एआईजी डा. मनोज केसी, राजन अधिकारी र सिद्धिविक्रम शाह प्रतिस्पर्धामा थिए। त्यसमध्ये वरीयतामा कार्की पहिलो नम्बरमा थिए।
हालका आईजीपी चन्द्रकुबेर खापुङ ३० वर्षे सेवा अवधिका कारण यही कार्तिक २६ गते राति १२ बजेदेखि अवकाशमा जाँदैछन्।
जिम्मेवारीका हिसाबले कार्कीसँग चुनौतीपूर्ण जिल्लाहरू जिल्ला प्रहरी परिसर काठमाडौं, जिल्ला प्रहरी कार्यालय कास्की सम्हालेको अनुभव छ।
प्रहरी संगठनमा कार्कीलाई बुझ्नेहरूका अनुसार उनी कम स्ट्रेसमा बोल्ड निर्णय गर्ने क्षमता भएका अधिकृतमा पर्छन्। उनी सकभर कसैलाई पनि चिढ्याउन चाहँदैनन्।
यूएनमा लामो समय काम गरेका उनी कानूनअनुसार चल्ने व्यावसायिक अधिकृतका रूपमा चिनिन्छन्। प्रहरी निरीक्षकबाट प्रहरी संगठनमा प्रवेश गरेका कार्की हालसम्म पनि आर्थिक विवादमा आएका छैनन्।
बानेश्वर वृत्तमा रहँदा कालोबजारीविरुद्ध मुद्दा चलाउन खोज्दा तत्कालीन काठमाडौं प्रहरी प्रमुख विक्रम थापाको गलत निर्देशन नमानेपछि उनी चर्चामा आएका थिए। कार्की आफू मातहतका सबैलाई मिलाएर लैजान सक्ने र चेन अफ कमान्डमा खरो रूपमा प्रस्तुत हुने अधिकृत हुन्।




















