आज राष्ट्रिय भक्का दिवस, पूर्व झापा,भद्रपुर र बिर्तामोड नगरपालिका क्षेत्रमा बृहत् सांस्कृतिक कार्यक्रमहरू गरी विशेष रुपमा मनाइदैछ ।

राष्ट्रिय भक्का दिवसको सन्दर्भमा तीन वटा स्थानीय तहले सार्वजनिक विदा समेत दिएका छन् । भक्का आदिवासी राजवंशी समुदायको जाति विशेष परिकार हो ।

२०७४ मा कोचिला गाभुर फ्रन्ट नामक संस्थाले पुस २९ लाई राष्ट्रिय भक्का दिवसको रुपमा मनाउने घोषणा गरेपछि हरेक वर्ष झापामा यो दिवस मनाउने गरिएको छ । भद्रपुर नगरपालिका, हल्दीबारी र कचनकवल गाउँपालिकाले यो दिवसको सन्दर्भ पारेर स्थानीय विदा समेत दिएका छन् ।

यस दिवसमा भक्काका विभिन्न परिकार बनाउने र विभिन्न सांस्कृतिक कार्यक्रम गरी मनाउने गरिएको छ । ठाउँठाउँमा विभिन्न खेलकूद तथा मनोरञ्जनात्मक कार्यक्रमहरू समेत आयोजना गरिएका छन् ।

आज राजवंशी समाज विकास समितिले बिर्तामोडको डोमालाल राजवंशी रंगशालामा भक्का दिवस विशेष कार्यक्रम गर्ने भएको छ । कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराती समेत सहभागी हुने भएको छन्।