दक्षिण कोरियाका लागि उत्पादन तर्फको कोरियन भाषा परीक्षा (ईपीएस) मा थप २० हजार ९०४ जनाले आवेदन दिएका छन् ।

उच्च अदालत पाटनको आदेशसँगै वैदेशिक रोजगार विभाग अन्तर्गत रोजगार अनुमति प्रणाली (ईपीएस) शाखाले उत्पादनतर्फ पुनः आवेदन माग गरेकोमा यति सङ्ख्याले आवेदन दिएका हुन् ।

उच्च अदालत पाटनले शुक्रबार बालकुमारी घटनापछि पानीजहाज बनाउने काम (सिप बिल्डिङ) का लागि कोरियन भाषा परीक्षामा सहभागी भएका कसैलाई पनि उत्पादन क्षेत्रको परीक्षा आवेदनबाट वञ्चित नगराउन आदेश दिएको थियो । त्यसपछि गत पुस १६ गते पुनः आवेदन खुला गरेको थियो ।

उत्पादन तर्फ थप आवेदन सहित अहिलेसम्मकै धेरै एक लाख ६४ हजार ७१६ जनाको आवेदन परेको ईपीएस शाखाले जनाएको छ ।सो शाखाका अनुसार गत साउनमा भएको सिप बिल्डिङको परीक्षामा सहभागी हुन पुस १६ देखि १८ सम्म आवेदन माग गरिएको थियो । त्यसमा आवेदन नपरेपछि पुनः २० गतेसम्म समय थप गरेर आवेदन सङ्कलन गरिएको छ ।