जिल्ला प्रशासन कार्यालय सर्लाहीले बरहथवा नगरपालिकामा आज  आइतबार दिउँसो १२ः४५ देखि  सोमबार बिहान ८ बजेसम्म पूर्वमा सितापुर जाने बाटोको ब्रम्हास्थान, पश्चिममा हजरिया जाने बाटोको नहर, दक्षिणमा हनुमान मन्दिर र उत्तरमा सोतीरचोर्निया पुल सीमा निर्धारण गरी कर्फ्यु जारी गरिएको हो ।

यही पुस २० गते शुक्रबार बरहथवा नगरपालिकामा प्राथमिक स्वास्थ्य केन्द्रको स्तरोन्नतिलाई लिएर भएको विरोध प्रदर्शनका कारण सार्वजनिक तथा निजी सम्पत्ति र संरचनामा भएको तोडफोड, आगजनी तथा हुलदङ्गालगायतका सार्वजनिक शान्ति सुरक्षा भङ्ग हुनसक्ने देखिएको भन्दै कर्फ्यु जारी गरिएको सर्लाहीका प्रमुख जिल्ला अधिकारी कोमलप्रसाद धमलाले जानकारी दिनुभयो  । 

उक्त क्षेत्रभित्र कुनै पनि किसिमको भेला हुन र बाहिर आवतजावत गर्न नपाइने कार्यालयले जनाएको छ । स्थानीयको प्रदर्शनमा गत शुक्रबार एक जनाको मृत्यु भएको थियो ।