नेपाल प्रहरीका प्रमुख प्रहरी महानिरीक्षक वसन्त बहादुर कुँवरले मुलुकमा बैंकिङ कसूर र वित्तीय अपराधनका घटनामा उल्लेख्य वृद्धि भएको जनाउँदै त्यस्ता घटनाको अनुसन्धानका लागि नेपाल प्रहरीमा छुट्टै ब्यूरो स्थापना गर्न लागिएको बताउनुभएको छ । 

गण्डकी प्रदेशको राजधानी पोखरामा आज आयोजित प्रदेशस्तरीय अपराध अनुसन्धान समीक्षा गोष्ठीमा उहाँले आर्थिक अपराधसँग सम्बन्धित कसुरको अनुसन्धान गर्न विशिष्टिकृत ब्यूरो स्थापनाका लागि गृहकार्य अगाडि बढाइएको जानकारी दिनुभयो ।

गण्डकी प्रदेशमा मात्र गत वर्षको तुलनामा चालु आर्थिक वर्षमा दुई सय प्रतिशतले त्यस्ता घटनामा वृद्धि आएको पाइएको छ । “आर्थिक अपराधका घटनाले व्यक्ति वा कुनै संस्थालाई मात्र नभइ सिङ्गै राष्ट्रको अर्थतन्त्रलाई गम्भीर असर पु¥याउने भएकाले यस्ता घटनाको नियन्त्रणमा प्रहरी प्रधान कार्यालय संवेदनशील भएर लागिपरेको छ ।” उहाँले समाजमा आर्थिकसँगै साइबार अपराध, लागूऔषध दुव्र्यसनी, सामाजिक कसूरलगायत चुनौतीका रुपमा देखा परिरहेको उल्लेख गर्नुभयो । 

उहाँले वैदेशिक रोजगार, अध्ययन, भ्रमण आदि उद्देश्यले नेपालबाट अन्तरदेशीय आवातजावत बढेकाले ती क्षेत्रसँग सम्बन्धित अपराधको जोखिम बढेको धारणा राख्नुभयो । महानिरीक्षक कुँवरले पोखरा देशकै प्रमुख पर्यटकीय गन्तव्य भएकाले पोखरामा पर्यटनमैत्री सेवालाई थप विस्तार गरिने जानकारी दिनुभयो । 

नेपाल प्रहरीको अपराध अनुसन्धान शाखा र गण्डकी प्रदेश प्रहरी कार्यालयद्वारा आयोजित गोष्ठीमा प्रदेशअन्तर्गतका ११ वटै जिल्लाका प्रहरी प्रमुखलगायत प्रहरी अधिकृतको सहभागिता थियो ।