विश्वव्यापार सङ्गठन चेयर्स प्रोग्राम नेपाल र काठमाडौँ विश्वविद्यालयको आयोजनामा आजदेखि यहाँ दुईदिने ‘डब्लुसिपी नेपाल-एआइबी साउथ एशिया कन्फ्रेन्स, २०२४’ सुरु भएको छ । 

विश्वव्यापारमा दक्षिण एशियाको प्रतिस्पर्धीपन, आपूर्ति शृङ्खला र वातावरणीय तथा सामाजिक पक्ष वा विषयमा अन्तर्राष्ट्रिय सम्मेलन आयोजना भएको हो 

सम्मेलनलाई सम्बोधन गर्नुहुँदै काठमाडौँ विश्वविद्यालयका रजिस्ट्रार प्राध्यापक अच्युत वाग्लेले नेपाल अतिकम विकसित मुलुकबाट स्तरोन्नति हुने चरणमा रहेको सन्दर्भमा नेपालले फरकखालको वाणिज्य नीति अवलम्बन गरिनुपर्ने आवश्यकता औँल्याउनुभएको छ । 

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव नारायणप्रसाद शर्मा दुवाडीले नेपालको वैदेशिक व्यापारलाई सन्तुलितरुपमा अगाडि बढाउन देखिएको नीतिगत खाडललाई पुर्नका लागि अनुसन्धानकर्ता तथा अध्येताबाट आउने सुझावलाई सरकारले सकारात्मक रुपमा लिने र आवश्यकताअनुसार ती सुझाव कार्यान्वयनका लागि पहलसमेत गर्ने बताउनुभयो । 

काठमाडौँ विश्वविद्यालका उपकुलपति प्राध्यापक डा.भोला थापाले क्षेत्रीयस्तर र विश्वबजारमा समेत व्यापारका आयाम परिवर्तन भइरहेको र त्यसले नेपालजस्ता आयातमा निर्भर र सानो अर्थतन्त्र भएका मुलुक बढी प्रभावित भइरहेको छ। 

भारतीय विदेश व्यापार संस्थान, कोलकात्ता क्याम्पसका प्रमुख प्राध्यापक के रङ्गराजनले दक्षिण एशिया क्षेत्रमा उच्च जनसाङ्ख्यकीय लाभ रहे पनि व्यापारका क्षेत्रमा उचित लाभ लिन नसकेको बताउनुभयो । 

दक्षिण एशियाले क्षेत्रीय र विश्व व्यापारमा विभिन्न चुनौतीको सामना गरिरहेको उल्लेख गर्नुहुँदै नवीनतम् प्रविधिको उच्चतम प्रयोगबाट यस क्षेत्रका उत्पादनलाई विश्वबजारमा पुयाउन सकिने सम्भावनालाई गम्भीरताका लागि लिनुपर्ने उहाँको भनाइ छ । एशोसिएसन अफ इन्डियन युनिभर्सिटीजको महासचिव डा.पङ्कज मित्तलले शैक्षिक अध्ययनका विभिन्न कार्यक्रमका माध्यमबाट अन्तरदेशीय आबद्धता कायम गर्न, सम्मेलनमा विभिन्न सात देशका ६० भन्दा धेरै विज्ञ, अनुसन्धानदाता, प्राज्ञिक व्यक्तित्वको सहभागिता छ । दुईदिने सम्मेलनमा विभिन्न विषयमा शोधपत्र प्रस्तुत हुनेछन् ।