बनियानी(झापा), १८ पुस  

झापाको शिवसताक्षी नगरपालिका–१ स्थित धरमपुर चोकमा इतिहास एवं भाषाविद्  इमानसिंह चेम्जोङको सालिक निर्माण गरिएको छ ।

रु.१५ लाख ६० हजार नौ सय ६६ को लागतमा सालिक निर्माण स्थल सहितको संरचनामा निर्माण गरिएको निर्माण समितिका संयोजक देउबहादुर चेम्जोङले जानकारी दिनुभयो । यसका लागि दाताहरुबाट रु.२१ लाख ५२ हजार दुई सय ५६ सङ्कलन गरिएको र रु.छ लाख ३१ हजार दुई सय ९० बचत समेत भएको संयोजक चेम्जोङले बताउनुभयो ।

हाल पठनपाठन हुँदै आएको किराँत भाषा र लिपिको विकास एवं विस्तारमा इमानसिंहको योगदान उच्च रहेको छ । तस्बिर चित्राङ्कित हुलाक टिकट प्रकाशन गरी सरकारले उहाँलाई राष्ट्रिय प्रतिभाका रूपमा मान्यता दिएको छ ।

यसैबीच स्व चेम्जोङको एक सय २१औँ जन्मजयन्तीका अवसरमा शिवसताक्षी नगरपालिकाका प्रमुख मेघाहाङ थोप्राले उक्त सालिक अनावरणसमेत गर्नुभएको छ ।