कानेपोखरी (मोरङ),१८ पुस
मोरङको कानेपोखरीमा तीन जना सवार मोटरसाइकललाई बोलेरो पिकअप गाडीले ठक्कर दिँदा मंगलबार साँझ दुर्घटना भएको हो।
दुर्घटनामा परेर मोटरसाइकल चालकको मृत्यु भएको छ भने पछाडि सवार रहेका दुई जना गम्भीर घाइतेभएका छन्।
पूर्व–पश्चिम लोकमार्ग अन्तर्गत मोरङको कानेपोखरी गाउँपालिका–७ मा दुर्घटना भएको इलाका प्रहरी कार्यालय पथरीका डीएसपी गणेश श्रेष्ठले जानकारी दिनुभयो। सडक क्रस गर्ने क्रममा ग ३ च १६५ नम्बरको बोलेरोले प्रदेश १–०५–००१ प ६५६१ नम्बरको मोटरसाइकललाई साँझ ७ः२० बजेतिर ठक्कर दिएको हो । दुर्घटनामा मोटरसाइकल चालक सप्तरीको कञ्चनरुप नगरपालिका–५ का १८ वर्षीय कृष्णदेव चौधरीको मृत्यु भएको श्रेष्ठले जानकारी दिनुभयो।
दुर्घटनामा गम्भीर घाइते भएका चौधरीलाई उपचारका लागि विराटनगरको नोबेल शिक्षण अस्पताल पुर्याउन साथ राति ८ः१५ बजेतिर चिकित्सकले मृत घोषित गरेका हुन्। मोटरसाइकलको पछाडि सवार कञ्चनरुप–५ का १८ वर्षीय श्यामनन्द चौधरी र १९ वर्षीय विशाल चौधरी रहेका छन् । दुवै घाइतेको नोबेल अस्पतालमै उपचार भइरहेको छ। मोटरसाइकलमा तीन जना सवार र बोलेरो चालकको लापरबाहीले दुर्घटना भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।
पश्चिमबाट पूर्व आई दक्षिणतर्फ जानका लागि बाटो क्रस गर्दै गरेको बोलेरोले,दक्षिणबाट पश्चिमतर्फ जान खोज्दै गरेको अवस्थामा मोटरसाइकललाई ठक्कर दिएको प्रहरीले जनाएको छ। दुर्घटना पछि फरार बोलेरो र चालक सप्तरी कंकालीका ३४ वर्षीय विनोद शर्मालाई इलाका प्रहरी कार्यालय रंगेलीले बुधबार बिहान नियन्त्रणमा लिएको छ । दुर्घटनामा परेर बोलेरो र मोटरसाइकलमा समेत क्षति पुगेको छ। घटनाको थप अनुसन्धान भइरहेको छ।