उद्यौलि पर्व
विराटनगर १० पौष
किरात समुदायको दोस्रो महत्वपूर्ण चाड उँधौली चाड विराटनगरमा पनि मनाइएको छ ।
मंगलबार प्रकृति पुजारी किरात राईहरूको दोस्रो महान चाड उँधौलीमा अन्नबाली भित्र्याउनुअघि प्रकृति र पितृको पूजा गर्ने चलन रहेको छ । यस चाडमा किराँतीहरू एकापसमा भेला भएर सङ्गठितरुपमा चाड मनाउने र शुभकामना आदानप्रदान गर्ने गर्दछन् ।
विराटनगरमा विभिन्न समुह बनाए किराँत महिला तथा पुरुष जातीय भेसभुसामा सजिएर पूजापछि आ– आफ्नो परम्पराअनुसार चण्डी नाच, च्याब्रुङ नाच, ढोल नाच लगायतका नाच नाचेर मनोरञ्जन गरेका थिए ।
किरातको धार्मिक पुस्तक मुन्धुमअनुसार समयलाई दुई भागमा बाँडेको छ, उँधौली र उभौली । खेती किसानीका आधारमा यी दुई समय बाँडिएको किरात समुदायको बुझाइ छ ।
खेती किसान गर्नका लागि मनाइने चाड उभौली हो । बाली भित्र्याउने समयलाई उँधौली चाड मनाउने गरिन्छ । बाली भित्र्याउनुअघि प्रकृतिसँग नजिक देवताका पूजा गरेर आफ्ना पुर्खा र पितृलाई सम्मान गर्दै चढाउने प्रचलन रहेको छ ।