विराटनगर ६ पौष।
प्रतिनिधिसभा सदस्य तथा कांग्रेस नेता शेखर कोइरालाले देश कमजोर बनाउन देशीविदेशी शक्ति लागेको बताएका छन् ।
नेपाली कांग्रेस सुनसरीले बिहीबार इनरूवामा आयोजना गरेको कार्यक्रममा कोइरालाले देश र कांग्रेस विकट अवस्थाबाट गुजरिरहेको बताएका हुन् । कांग्रेस मात्रै लोकतान्त्रिक र संविधानुसार चल्ने पार्टी भएकाले अहिले चौतर्फी प्रहार भइरहेका उनले बताएका छन् । झन देश र कांग्रेसलाई कमजोर बनाउन देशीविदेशी शक्तिहरू लागेको छ त्यसैले कमजोर हुन दिनुहुँदैन, उनले भने, कांग्रेस कमजोर भयो भने लोकतन्त्र छिन्नभिन्न हुन्छ ।
मुलुकमा अहिले गणतन्त्र, धर्म निरपेक्षता, समावेशिता र संघीयता माथि प्रहार भइरहेको कोइरालाले बताए । नेतृत्व कमजोर भइसकेकाले जनताको निरासा र आक्रोशले गणतन्त्र, धर्म निरपेक्षता, समावेशिता र संघीयतामाथि प्रहार भइरहेको हो उनले भने, त्यसमा पनि मन्त्रीहरूको अराजकताले यी सब भइरहेको छ ।
देशमा सुशासन दिन नसक्ने, भ्रष्टाचार र दण्डहिनता रोक्न नसक्ने सरकार भएपछि सर्वसाधारण निरास भएको कोइरालाले बताएका छन् । देशको अर्थतन्त्र धरापमा छ, ऋण लिएर कर्मचारी, सांसदले तलव खाइरहेका छन्, उनले भने, हमास र इजराइलको द्वन्द्व साम्य नभए वैदेशिक रोजगार गुमेपछि अर्थतन्त्र धरापमा पर्छ ।
उनले बैंकहरूले किसानलाई ऋण दिँदैन तर उद्योगीलाई आदर पूर्वक दिने गरेकाले किसानको अवस्था वेहाल भएको बताएका हुन् । उखुको भुक्तानी पाउँदैन किसानले, देशमा रहेको ३५ वटा चिनी मिल बन्द भएर ९ वटा मात्रै चलेको छ । मुलुकमा नेतासँगै कर्मचारी र व्यापारी त्यतिकै भ्रष्ट रहेको र यी सब ठीक नभएसम्म देशको अवस्था नसुध्रिने कोइरालाको भनाइ छ ।
मुख्यमन्त्री केदार कार्कीले लोकतन्त्र र कांग्रेसमा परिवारको होइन, अब गाउँवासीका कुरा सुन्ने र कार्यकर्ताको नेतृत्व गर्नेलाई नेता मान्ने अवस्था आएको बताएका छन् ।
झुपडी हेरेर निर्णय गर भन्ने बीपीको आदेश पालना गरेर प्रदेशमा बजेटको प्रतिस्थापन विधेयक ल्याएको छु, उनले भने, अब अस्पतालमा कसैले छोराछोरीको उपचारका लागि ऋण खोज्न जानुपर्दैन । १० वर्षमुनीका प्रदेशभरिका बालबालिकाको निःशुल्क उपचारको बजेटमा व्यवस्था गरेको छु । सत्तामा मैमत्ता लाग्ने आरोप युवाले मेट्नुका साथै संयम र सबै पुस्ताको नेतृत्व गर्ने नेता देशलाई आवश्यक भएको कार्कीले बताए ।