मोरङ जिल्लामा पनि नेपाल भारत सिमानामा रहेका सिमा स्तम्भहरुको मर्मत कार्य सुरु भएको छ ।
शुक्रबार नेपाल सरकारको २०७७ साउन १९ गतेको निर्र्णय अनुसार मोरङमा पनि सशस्त्र प्रहरीले सिमा स्तम्भहरुको मर्मत सम्भार , रंगरोगन र पुनस्र्थापना गर्ने कार्य शुरु गरिएको हो ।
विराटनगर महानगरपालिका वडा नं. १८ दामादिगी स्थित १७७ नम्बरको पिलर विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले मर्मत सम्भार शुरु गरेर सिमा स्तम्भ मर्मत कार्यको शुभारम्भ गरेका थिए । सो कार्यक्रमलाई सम्बोधन गर्दै मेयर नागेश कोइरालाले सिमा क्षेत्रको सुरक्षा गर्न स्थानीयहरुको पनि महत्वपूर्ण भूमिका हुने बताए । उनले सिमाक्षेत्रमा हुने गरेको लागूऔषधको ओसारपोसार र मानव बेचबिखन ठुलो समस्या बन्दै गएकोले यसलाई सुरक्षा निकायको समन्वय र स्थानीयको साथबाट समाधान गर्नुपर्ने बताए ।
सो कार्यक्रममा सशस्त्र प्रहरी बल बराह बाहिनीका प्रमुख सशस्त्र प्रहरी नायब महानिरीक्षक अश्विनी कुमार पोखरेलले देशको शन्ति सुरक्षा र आन्तरिक सुरक्षालाई सवल र प्रवलकारी बनाउने हो भने राज्याले सिमा सुरक्षालाई वलियो बनाउनु पर्ने बताए ।
सशस्त्र प्रहरी बल ३ नं। कंकालिनी गणले मोरङका ३७ वटा बिजोर नम्बरका पिलरहरु मर्मत सम्भार र रंगरोगन गर्ने जिम्मा पाएको हो । मोरङको भारत संग रहेको ६३ किलोमिटर सिमा क्षेत्रमा १ सय २३ वटा साना ठुला पिलरहरु रहेकोमा ६५ वटा जोर नम्बरका पिलरहरु भारतिय सशस्त्र सुरक्षा बल एसएसबीले मर्मत सम्भार र रंगरोगन गरिसकेका छन् । मोरङको सिमाक्षेत्रका २३ वटा पिलरहरु भने हराएका छन् ।