विराटनगर २८ कार्तिक।
उर्लाबारीको सुन पसलमा भएको आगलागीमा परी घाइते भएका १० जनालाई थप उपचारका लागि काठमाडौं लगिने भएको छ ।
कोसी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले आज बिहान बिएन्डसी अस्पताल बिर्तामोड पुगेर घाइतेको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् । सबै दश जनालाई नेपाली सेनाको बिमानले भद्रपुर विमानस्थलबाट काठमाडौं लाने मुख्यमन्त्री कार्कीले जानकारी दिएका छन् ।
बिएन्डसी अस्पतालका संचालक दुर्गा प्रसाईंले उपचाररत बिरामीको उपचार खर्च बुझाएर मात्र लैजान भनेपछि मुख्यमन्त्री कार्की र प्रसाईंबीच विवादसमेत भएको छ । प्रसाईंले 'सबै खर्च बुझेर मात्र डिस्चार्ज गर्ने ' भनेपछि मुख्यमन्त्री कार्कीले 'बिरामीको ज्यान दायाँबायाँ भए प्रहरी लगाएर थुनाइदिने' चेतावनी दिएपछि बिरामी लैजान दिन प्रसाईं सहमत भएका थिए ।
मुख्यमन्त्री कार्कीले प्रसाईंसंग नोकझोक भएको तर उपचार खर्च प्रदेश सरकारले व्यहोर्ने बताए। मुख्य मन्त्री कार्कीले संकटको बेला पैसा भन्दापनि मानवीय चरित्र र सहयोग भावना देखाउन आफूले प्रसाईंलाई सम्झाएको बताए ।
लक्ष्मीपूजाको राति मोरङको उर्लाबारी -७ स्थित दिपक कार्कीको घरमा अवस्थित सुन पसलमा आगलागी हुँदा प्रहरी सहित २८ जना जलेर घाइते भएका थिए । तीमध्ये विराटनगरका विभिन्न अस्पतालमा उपचाररत १४ जनालाई हिजो बर्न अस्पताल कीर्तिपुर पठाइएको थियो । प्रदेश सरकारको समन्व थट उपचार गर्न उनीहरुलाई सेनाको स्काई ट्रकले विराटनगर विमानस्थलबाट लगेको थियो ।