रङ्गमञ्चमार्फत चलचित्रमा उदाउने कलाकारको सूचीमा अनुप बराल, सौगात मल्ल, दयाहाङ राई, कार्म, विपन कार्की, खगेन्द्र लामिछाने, मेनुका प्रधान, लक्ष्मी बर्देवा, विजय बराल, रवीन्द्र सिंह बानियाँ, कमलमणि नेपाल, महेश त्रिपाठी, बुद्धी तामाङलगायत पर्नुहुन्छ । उल्लेखित नाम चलचित्रमा स्थापित भएका केही प्रतिनिधि मात्र हुन् । लेखिएको भूमिकालाई न्याय गर्ने कलाकारको खोजी हुँदा प्रायः लेखक र निर्देशक पनि रङ्गमञ्चसम्म धाउने गर्दछन् ।
अहिले सानो भूमिकादेखि शीर्ष भूमिकासम्ममा पनि उनीहरूको उपस्थिति छ । यद्यपि चलचित्रमा स्थापित भएका रङ्गकर्मी रङ्गमञ्चमा भने कमै फर्किने गरेका छन् । चलचित्रको व्यस्तताले उनीहरूलाई रङ्गमञ्चमा फर्किन सहज भएको छैन । कतिपय अवस्थामा कलामाथि व्यापार पनि हाबी भएको छ । “नाटकलाई समय दिनुपर्छ । अभ्यास र मञ्चन गर्न झन्डै दुईदेखि तीन महिनासम्म समय लाग्ने भएकाले पनि धेरैलाई समय मिलाउन सहज नभएको हुन्सक्छ”,अभिनेता महेश त्रिपाठीले भन्नुभयो,“म भने समय मिलाएर नाटकमा अभिनय गरिरहेको हुन्छु । किनकी त्यहाँ आफूलाई महसुस गर्न पाउँछु ।”
व्यावसायिक पाटोभन्दा कला महत्वपूर्ण हुने भएकाले स्थापित र विस्थापितको लहर चलिरहेको रङ्गकर्मीहरूको भनाइ थियो । रङ्गकर्मी भोलाराज सापकोटाले नाटकलाई कलाले मात्र जीवित राखेको बताउनुभयो । “रङ्गकर्मीलाई यसैबाट जीविकोपार्जन गर्न सहज छैन । अहिले चलचित्रमा महँगो अभिनेतामा पर्ने केहीले यहीँबाट सुरूआत नगरेका भने होइनन् तर यो अभिनय बुझ्ने र सिक्ने मञ्चमात्र बनिरहेको छ”,उहाँले भन्नुभयो ।
आर्थिक पक्षलाई सवल बनाउन भए पनि चलचित्रमा काम गर्नेक्रम बढेको छ । रङ्गकर्मी प्रकाश घिमिरेले समय अभावकै कारण नाटकघरसम्म आउन विलम्ब भएको बताउनुभयो । उहाँले भन्नुभयो, “चलचित्रमा व्यस्त कलाकारले समय मिलाउन सकेका छैनन् । उनीहरूले वर्षमा एकैपटक नाटक घरलाई दिए राम्रो हुन्थ्यो । यद्यपि नाटक गर्ने तयारी र सोच भने छ । यस वर्ष केही परिचित अनुहारमा नाटक पाइन्छ ।” उहाँले पनि हालै सम्पन्न एक नाटकमा चलचित्रकै कारण अभिनय गर्न पाउनु भएन ।
आर्थिकरूपले समृद्ध भए वर्षमा एक÷दुई पटक नाटकमा प्रस्तुत हुनसके टेवा पुग्ने विश्वास उहाँको थियो । नाटकमा आफ्नो कला देखाएर चलचित्रसम्मको यात्रा तय गरेका रङ्गकर्मीलाई रङ्गमञ्चमै भने अहिले विरलै देख्न पाइन्छ ।
–––RSS