धनकुटाको चौबिसे गाउँपालिका–४ विजिटारमा विंगर भ्यान दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ। दुर्घटनामा दुई जना घाइते भएका छन्।

निर्माणाधीन तमोर करिडोर सडक खण्डमा सोमबार बिहान भएको दुर्घटनामा मोरङको सुन्दरहरैँचा नगरपालिका–६ बस्ने ४० वर्षीया सवित्रा ढुंगेलको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रहरी नायब उपरिक्षक ज्ञानकुमार महतोले जानकारी दिए।

दुर्घटनापछि सवारीभित्र च्यापिएर उनको ज्यान गएको हो। सुनसरीको इटहरीबाट पाँचथरतर्फ जाँदै गरेको प्र १–०१–००१ ज ३९४९ नम्बरको विंगर आफैँ अनियन्त्रित भई सडकमा पल्टिएर दुर्घटना भएको हो।

दुर्घटनामा सवारी चालक पाँचथरको फाल्गुनन्द गाउँपालिका–१ बस्ने अन्दाजी २८ वर्षीय तेजकुमार चेम्जोङ र सवारीमा रहेका ताप्लेजुङको फुङलिङ नगरपालिका–८ बस्ने अन्दाजी २२ वर्षीय दिपेन रसाइली घाइते भएका छन्।

उनीहरूको शरीरका विभिन्न भागमा चोट लागेको प्रहरीले जनाएको छ। घाइते दुवै जनालाई थप उपचारका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको छ।

गाडीमा करिब २ हजार ५ सय चल्ला समेत रहेको र दुर्घटनाबाट केही चल्ला मरेको प्रहरीले जनाएको छ।