राजधानीमा मेलम्चीको पानी आइपुग्ने सुन्दरीजल क्षेत्रमै खानेपानीको अभाव हुन थालेको छ । सिन्धुपाल्चोक जिल्लाको हेलम्बु गाउँपालिका–१ बाट २७.५ किमी सुरुङको दूरी पार गरी आउने मेलम्चीको पानी गोकर्णेश्वर नगरपालिका–१ महाङ्कालमा प्रशोधन हुन्छ । दैनिक मेलम्ची खोलाबाट आउने १७ करोड ५० लाख लिटर पानी प्रशोधन गरेर राजधानी पठाउने यस क्षेत्र वरपरका स्थानीयवासी भने सुक्खा यो मौसममा काकाकुल बन्न थालेका छन् । यहीँबाट वाग्मती नदीको करिब नौ करोड लिटर पानी राजधानीका विभिन्न स्थानमा वितरणका लागि लगिन्छ । वर्षाद्का समयमा यहाँको वाग्मतीबाट करिब १३ करोड लिटर पानी राजधानीमा लगिन्छ ।
यस क्षेत्रका गोकर्णेश्वर र कागेश्वरी मनोहरा दुई नगरपालिकाका अधिकांशले मेलम्चीको परै जाओस् पहिलेदेखि राजधानीमा वितरण गरिने वाग्मती नदीको पानी पनि पाउन सकेका छैनन् । खानेपानीको समस्या भएपछि यहाँका स्थानीयवासी परम्परागत ढुङ्गेधारा र कुवामा निर्भर हुनुपर्ने बाध्यता छ । कागेश्वरी मनोहरा नगरपालिका–३ भद्रवासका स्थानीय रेणुका तिमल्सिना खानेपानी लिन गोकर्णेश्वर नगरपालिका–१ को रुप्सेटार भन्ने स्थानको धारामा जानुपर्ने गरेको दुःखेसो पोख्नुहुन्छ ।
धारामा धेरै मानिस खानेपानीका लागि लाममा बस्ने गरेकाले घण्टौँ कुर्नुपर्ने बाध्यता रहेको उहाँको अनुभव छ । यस्तो समस्या भोग्ने तिमल्सिनामात्र होइन यहाँका हजारौँको समस्या हो । आधारभूत खानेपानी सेवा बिस्तार गर्ने विषयलाई नगरपालिकाले प्राथमिकतामा राखेपनि स्थानीय सरकारले एक कार्यकाल पूरा गर्दा पनि समस्या भने समाधान हुन सकेको छैन ।
राजधानीमा मेलम्चीको पानी तेस्रोपटक आएको दुई महिना पूरा भएपनि वाग्मतीको मुहान क्षेत्र र मेलम्चीको पानी प्रशोधन भएर वितरणका लागि लगिने स्थलका मानिसले पानी नपाएर तड्पिनु परेको गोकर्णेश्वर नगरपालिका–२ राईटारका मङ्गली तामाङको गुनासो छ । स्थानीय सरकारले विभिन्न खानेपानी आयोजना पूरा गरेको प्रतिवेदन बनाएपनि दिगो हुन नसक्दा संविधानमा मौलिक हकका रुपमा उल्लेख गरिएको स्वच्छ खानेपानीको हकबाट बञ्चित हुनुपरेको उहाँले सुनाउनुभयो ।
गोकर्णेश्वरका नगर प्रवक्ता नारायणबहादुर सुवेदी काठमाडौँ उपत्यका खानेपानी लिमिटेडले बिच्छ्याउनुपर्ने पाइप नगरपालिकाकै बजेटबाट राखेर पानी माग गर्दा पनि समस्या समाधान नभएर नगरवासीले दुःख पाएको स्वीकार्नुहुन्छ । जनप्रतिनिधि र पीडित स्थानीयवासी लिमिटेडमा गएर कुरा राख्दा १५ दिनमा वाग्मतीको पानी गोकर्णेश्वर क्षेत्रमा दिने सहमति भएको जानकारी पनि उहाँले दिनुभयो । धेरै नगरवासी वडा कार्यालय र नगरपालिकामा पटकपटक खानेपानीका लागि धर्नामा बस्ने गरेका छन् । ---RSS