नेकपा एमालेको महाधिवेशन प्रतिनिधिका लागि धनकुटामा पुनः निर्वाचन प्रक्रिया सुरु हुने भएको छ।यसअघि भएको प्रतिनिधि छनौट निर्वाचन विधि सम्मत नभएको भन्दै केन्द्रबाट पुनः प्रतिनिधि छान्न निर्देशन दिइएको हो। धनकुटामा राजेन्द्र राई र इन्द्रमणि पराजुली समूहबीच प्रतिस्पर्धा छ।

राई समूहले एकलौटी गरेको भन्दै पराजुली समूहले निर्वाचन बहिष्कार गरेको थियो। बहिष्कारबीच पनि राई समूहले प्रतिनिधिको नामावली पठाएको थियो । पराजुली समूहले असन्तुष्टि जनाउँदै उजुरी दिएको थियो। यहाँ मतपत्र समेत च्यातिएको थियो।

प्रतिनिधि छनौट प्रक्रिया विधि विपरीत भएकाले केन्द्रले मान्यता नदिएको एमाले कोशी प्रदेश इन्चार्ज शेरधन राईले बताए। उनका अनुसार धनकुटामा पुनः प्रतिनिधि छनौट गरिनेछ।

कोशी प्रदेशकै ओखलढुंगामा पनि पुनः प्रतिनिधि छनौट गर्न निर्देशन दिइएको छ।