बेलायतमा बलात्कार तथा यौन दुराचारको अभियोगमा एक नेपालीलाई २५ वर्ष जेल सजाय भएको छ। ४९ वर्षीय प्रमोद ढकाललाई बेलायतस्थित क्याम्ब्रिज क्राउन कोर्टले २५ वर्षको जेल सजाय मात्र हैन, त्यसपछिका ८ वर्षसम्म कडा निगरानीमा राख्ने फैसला सुनाएको छ।

ढकाल बेलायतको पिटरबरो बस्दै आएका थिए।

अदालतका अनुसार ढकाललाई विगत १७ वर्षको अवधिमा भएका यौन दुराचारसम्बन्धी विभिन्न २५ वटा अपराधमा दोषी ठहर गरिएको हो।

उनले १३ वर्ष मुनिका बालिकामाथि ५ पटक र १३ वर्षमाथिका बालिकामाथि २ पटक बलात्कार गरेको उल्लेख छ।

ढकालको बलात्कार र यौन दुराचारमा परेका अधिकांश पीडित पिटरबरो क्षेत्रकै छन् भने एक जनालाई उनले लन्डन पुगेर दुराचार गरेको उल्लेख छ।

सन् २००६ देखि पिटरबरोमा बस्दै आएका ढकाल त्यसक्षेत्रकै पुरानामध्येका एक नेपाली हुन् भने उनी पण्डितका रूपमा कार्यरत थिए।