बेलबारी, कार्तिक १३ । निर्वाचनमा उम्मेद्वार बनेका नेताहरुको घरदैलो कार्यक्रमले जोडतोड पक्रिएको छ । उनीहरु मतदातासम्म पुगेर जनताका गुनासो र दुःख सुनिरहेका छन् । मंसिर ४ मा हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा उम्मेद्वार हुने राजनीतिक हैसियत बनाएका नेताहरु अरु समयमा पनि व्यस्तै रहन्छन् । अहिले त झन् चुनावले छोपिसकेको छ ।

जनताको गुनासो सुन्दै हिँडेका उम्मेद्वारले आफ्नै घरपरिवारलाई समय दिने र परिवारकै गुनोसो सुन्न भने समय नै पाउँदैनन् । परिवारका सदस्यहरुसँग कुरा गर्दा “देशकै जिम्मेवारी सम्हाल्न अघि सरेको नेताको परिवार भएपछि गुनासो गर्नुको अर्थ नहुने” बताउँछन् ।

मोरङ १ बाट प्रतिनिधि सभामा नेपाली काँग्रेसको उम्मेद्वार रहेका डिगबहादुर लिम्बु चाडपर्वको मौसममा र “कहिले काहिँ घर आइपुग्नुहुन्छ । चुनाबको बेला छ । अहिले हामीले अल्मल्याउनु भएन नि,” लिम्बुकी श्रीमती गंगामायाले भन्नुभयो । “बुहारीले घर हेर्छिन् । म त बिरामी मान्छे घरमै बसेर कुरा सुन्छु । उहाँ त धेरै बिराटनगर अनि पार्टी अफिस,” उहाँले थप्नुभयो ।

त्यस्तै मोरङ १ बाट नै प्रतिनिधि सभामा नेकपा एमालेबाट उम्मेद्वार बनेका घनश्याम खतिवडा पनि बिहानै घरबाट निस्केर सुत्न मात्र घर पुग्नुहुन्छ । घरपरिवारको जिम्मा अहिले श्रीमती दीलकुमारीकै जिम्मामा छ । “उहाँ पञ्चायत कालमा भुमिगत राजनीतिदेखि सक्रिय भएर आउनुभएको हो । घर व्यवहार उहाँकै जिम्मामा थियो । अहिले छोराहरु हुर्किए । अब त हामी नै राजनीतिक काममा जान प्रेरित गर्छौँ,” उहाँले भन्नुभयो ।