काठमाडौँ महानगरपालिकाले वडा नं. २९ मा अटिजम भएका बालबालिकाका लागि स्कुल भवनको शिलान्यास गरेको छ।

काठमाडौँ महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले बुधबार बिहान स्कुल भवनको शिलान्यास गरेकी हुन्। वडाध्यक्ष कुश ढकालसहित जनप्रतिनिधि र स्थानीयवासीको उपस्थितिमा उनले भवन निर्माणस्थलमा जग पूजा गरी शिलान्यास गरिन्।

शिलान्यास कार्यक्रमपछि आयोजित समारोहलाई सम्बोधन गर्दै कार्यवाहक प्रमुख डंगोलले हरेक बालबालिकाले पढ्न पाउनुपर्ने र अरू सरह समान अधिकार पाउनुपर्ने बताइन्। अटिजम वा शारीरिक अपाङ्गता भएका कारण कुनै पनि बालबालिका शिक्षाबाट वञ्चित हुन नपर्ने वातावरण सरकारले सिर्जना गर्नुपर्ने उनको भनाइ थियो।

उनले शारीरिक अशक्तताकै कारण शिक्षा लगायतका अधिकारबाट वञ्चित हुने बालबालिका धेरै रहेको भन्दै उनीहरूलाई सरकारले अधिकार सुनिश्चित गर्नुपर्ने बताइन्। महानगरले सबैको साझा सपनामा एउटा इँटा थप्ने काम मात्रै गरेको उनको भनाइ थियो।

काठमाडौँमा अटिजम भएका बालबालिका तथा उनीहरूका अभिभावकलाई सहयोग र सेवाको आवश्यकता बढ्दै गएको छ। यस्तो अवस्थामा महानगरपालिकाले निर्माण गर्ने यो भवन अटिजम भएका विद्यार्थीको सीप तथा ज्ञान अभिवृद्धि गर्न, तालिम तथा अध्ययन–अनुसन्धान गर्न र यस्ता बालबालिकाका अभिभावकलाई सहयोग पुर्‍याउन बहुउपयोगी हुने उनको विश्वास छ।

वडाको प्रशासनिक भवनको पूर्वतर्फ निर्माण हुने उक्त भवन ४५० दशमलव ८० वर्गमिटर क्षेत्रफलमा निर्माण हुनेछ। भवनका डिजाइनर इन्जिनियर प्रेमबहादुर श्रेष्ठका अनुसार भवनको लम्बाइ ९२ फिट र चौडाइ पूर्वतर्फ ३५ फिट तथा पश्चिमतर्फ २२ फिट हुनेछ।

१७ मिटर उचाइको पाँचतले भवनका हरेक तला तीन हजार वर्गफिटका हुनेछन्। तीन हजार पाँच सय वर्गफिटको भूमिगत तलासहित भवनको कुल क्षेत्रफल १८ हजार पाँच सय वर्गफिट हुनेछ। भवनको भूमिगत तलामा ३० वटा दुईपाङ्ग्रे सवारीसाधन पार्किङ गर्ने ठाउँ हुनेछ। जमिन तलामा खुला भाग, भर्‍याङ, लिफ्ट तथा मुख्य प्रवेशद्वार हुनेछ।

पहिलो, दोस्रो र तेस्रो तलामा तालिम तथा प्रशिक्षण कक्ष हुनेछन्। चौथो तलामा प्रशासन र अनुसन्धान कक्ष रहनेछन् भने पाँचौँ तलामा बार्दली हुनेछ। जमिन तलामा खेल्ने खुला ठाउँसमेत हुनेछ। लिफ्ट आठ जना क्षमताको हुनेछ। शौचालय तथा कोठाहरू अपाङ्गतामैत्री र पहुँचयुक्त हुनेछन्।

भवन निर्माणका लागि १० करोड ९१ लाख ७९ हजार ६०२ रुपैयाँ लागत अनुमान गरिएको थियो। सार्वजनिक खरिद प्रक्रियामार्फत भवन निर्माणका लागि नौ करोड ७७ लाख ४५ हजार ६२६ रुपैयाँमा सम्झौता भएको छ। निर्माण पक्षलाई २०८३ मंसिर ३ गते कार्यादेश दिइएको हो। २०८४ चैत मसान्तभित्र निर्माण कार्य सम्पन्न गरिसक्नुपर्नेछ। भवनको डिजाइन सार्वजनिक निर्माण विभागले गरेको हो।