नेपाली सेना र भारतीय सेनाबीच सञ्चालन हुँदै आएको संयुक्त सैनिक अभ्यास ‘सूर्यकिरण’को २०औं संस्करण बुधबारदेखि सुरु भएको छ।
रुपन्देहीको सालझण्डीस्थित नेपाली सैनिक ब्याटल स्कूलमा सुरु भएको अभ्यास मंसिर २२ गतेसम्म सञ्चालन हुनेछ। नेपाली सेनाको मध्यपश्चिम पृतना मुख्यालयका पृतनापति उपरथी पूर्णबहादुर खत्रीले बुधबार अभ्यासको शुभारम्भ गरेका हुन्।
दुवै देशका गणस्तरका सैनिक सहभागी हुने अभ्यासमा विपद् व्यवस्थापन, जङ्गल युद्धकला र मानवीय सहायतासहितका विषयमा तालिम तथा अनुभव आदानप्रदान गरिने नेपाली सेनाले जनाएको छ। अभ्यासमा सैनिकहरूले सैद्धान्तिक र व्यावहारिक ज्ञान साटासाट गर्नेछन्।
नेपाल र भारतमा आलोपालो गरी वार्षिक रूपमा सञ्चालन हुँदै आएको यो संयुक्त अभ्यास सन् २०१० अर्थात् विसं २०६७ देखि शुरू भएको हो। यसको १९औं संस्करण भारतको पिथौरागढमा सम्पन्न भएको थियो।
यस्ता संयुक्त सैनिक अभ्यासले दुई देशका सेनाबीचको मैत्रीपूर्ण सम्बन्ध र आपसी समझदारी थप सुदृढ बनाउनुका साथै सैनिकहरूको व्यावसायिक ज्ञान तथा सीप अभिवृद्धिमा सहयोग पुग्ने नेपाली सेनाको विश्वास छ।












