कर्णाली प्रदेशमा जारी १०औँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत महिला बास्केटबलको बुधबार सम्पन्न खेलमा सुदूरपश्चिम प्रदेश र नेपाल पुलिस क्लब विजयी भएका छन्।

फुल कोर्ट महिलातर्फको खेलमा नेपाल पुलिस क्लबले कर्णाली प्रदेशको टोलीलाई ५२–१९ अंकको फराकिलोअन्तरले हरायो। उक्त खेलमा दिभा महर्जनले सर्वाधिक २० अंक जोडिन्।

सोही स्पर्धाको अर्को खेलमा सुदूरपश्चिम प्रदेशले मधेश प्रदेशको टोलीलाई ४७–३ अंकको विशाल अन्तरले पराजित गर्‍यो। उक्त खेलमा सञ्जु घिसिङले सर्वाधिक १४ स्कोर गरिन्।

यसैगरी, महिला बास्केटबलकै थ्री अन थ्री स्पर्धामा त्रिभुवन आर्मी क्लब र बागमती प्रदेशका टोली विजयी भए। उक्त खेलमा दिब्यांशा कार्कीले सर्वाधिक ६ स्कोर गरिन्।

त्रिभुवन आर्मी क्लबले कोशी प्रदेशलाई १३–८ अंकले हरायो। बागमती प्रदेशले भने मधेश प्रदेशलाई८–३ अंकले हरायो। उक्त खेलमा आरुषा महर्जनले सर्वाधिक चार स्कोर गरिन्।