ओखलढुंगाको सिद्धिचरण नगरपालिका-२ खनेखर्कमा जिप दुर्घटना हुँदा नौ जना घाइते भएका छन्।
प्रहरीका अनुसार निशंखे-ओखलढुंगा भित्री कच्ची सडकखण्डमा सोमबार बिहान सवा ७ बजे जिप दुर्घटनामा परेको हो। निशंखेबाट सिद्धिचरण नगरपालिका-८ लगलगेस्थित चम्पादेवी मन्दिर दर्शन तथा मेला भर्न जाँदै गरेको प्रदेश १-०७-००१ ज ०००५ नम्बरको जिप सडकबाट करिब ३५ मिटर तल खसेको थियो।
दुर्घटनामा सिद्धिचरण नगरपालिका-२ का ३४ वर्षीय सरोज आचार्य, २४ वर्षीया मिरा सार्की, उनका एक वर्षीय छोरा रोयन मंग्राती, २९ वर्षीय सबिन आचार्य, सात वर्षीय आयुश मंग्राती, सात वर्षीय प्रशान्त रम्तेल, २९ वर्षीया रमिला नेपाली, उनका छ वर्षीय छोरा प्रबिन मंग्राती र ३२ वर्षीया मिना मंग्राती घाइते भएका छन्।
घाइते सबैलाई उद्धार गरी उपचारका लागि सामुदायिक अस्पताल ओखलढुंगा पठाइएको प्रहरीले जनाएको छ।
दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।












