प्रहरी महानिरीक्षक (आईजीपी) पदबाट हटाइएका दानबहादुर कार्कीले दायर गरेको रिट निवेदनमाथि सोमबारका लागि तय भएको सुनुवाइ स्थगित भएको छ।

रिटमा विपक्षी बनाइएका नवनियुक्त प्रहरी महानिरीक्षक डा. मनोजकुमार केसीलाई अदालतको म्याद बुझाउन बाँकी रहेकाले सुनुवाइ स्थगित गरिएको हो।

यसअघि सर्वोच्च अदालतले आईजीपी केसीलाई म्याद बुझाउन पठाएको थियो। तर, प्रहरी प्रधान कार्यालयले केसीको नाम प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) का रूपमा रहेको भन्दै म्याद बुझ्न अस्वीकार गरेको थियो।

त्यसपछि कार्कीले सर्वोच्च अदालतमा अर्को निवेदन दिएका थिए। उक्त निवेदनका आधारमा केसी प्रहरी महानिरीक्षक रहेको व्यहोरा उल्लेख गर्दै सर्वोच्चले यसअघिको निवेदन र आदेशमा आवश्यक संशोधन गरेको थियो।

अदालतको आदेश संशोधन भएपछि केसीलाई म्याद बुझाउने प्रक्रिया बाँकी रहेकाले रिटमाथिको सुनुवाइ रोकिएको हो। सर्वोच्च अदालतले अर्को सुनुवाइको मिति भने निर्धारण गरिसकेको छैन।