नेपाली कम्युनिस्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज लमजुङ पुगेका छन्।
पार्टीका सल्लाहकार एवं सहकर्मी पूर्णबहादुर गुरुङको निधनपछि आयोजित श्रद्धाञ्जली सभामा सहभागी हुन प्रचण्ड क्व्होलासोथार गाउँपालिका–सानो काभ्रे पुगेका हुन्।
चितवन र गोरखा हुँदै लमजुङ प्रवेश गरेका उनलाई राइनास नगरपालिका–१ मा स्थानीय बासिन्दा तथा पार्टीका नेता–कार्यकर्ताले स्वागत गरेका थिए। यसअघि उनलाई चितवनको भरतपुर, तनहुँको आँबुखैरेनी तथा गोरखाको बाह्रकिलो र हर्मीमा पनि स्वागत गरिएको थियो।
स्वागतका क्रममा आयोजित कार्यक्रममा सम्बोधन गर्दै संयोजक प्रचण्डले मुलुकका विद्यमान समस्या समाधान गर्न कम्युनिस्ट शक्तिहरूबीच एकता र सहकार्य आवश्यक रहेको बताए।
नेपाली कम्युनिस्ट आन्दोलनलाई एकताबद्ध र सुदृढ बनाउने अभियानमा आफूहरू जुटिरहेको उल्लेख गर्दै उनले कम्युनिस्ट शक्तिबाहेक अन्य शक्तिले देश र जनताका समस्या प्रभावकारी रूपमा समाधान गर्न नसक्ने धारणा राखे।
विश्वभर कम्युनिस्ट आन्दोलनप्रति नयाँ आकर्षण र लहर सिर्जना भइरहेको उल्लेख गर्दै उनले नेपालमा पनि जनताको साथ र समर्थनमा कम्युनिस्ट आन्दोलन सशक्त बन्ने विश्वास व्यक्त गरे।
उनले कम्युनिस्ट आन्दोलनको एकता, जनताको विश्वास र परिवर्तनको आकाङ्क्षालाई आत्मसात् गर्दै अघि बढ्नुपर्नेमा जोड दिए।












