नेपाल प्रिमियर लिग (एनपीएल) को आजको खेलमा काठमाण्डौं गोर्खाजले जनकपुर बोल्ट्सलाई ११६ रनको लक्ष्य दिएको छ।
बिहीबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट रंगशालामा टस जितेर पहिला ब्याटिङ गरेको काठमाडौंले निर्धारित १९.३ ओभरमा ११५ रनमा अलआउट भयो।
काठमान्डुलाई सस्तोमै समेट्न बलिङमा जनकपुरका आइकोनिक प्लेयर राहुल यादवले उत्कृष्ट प्रदर्शन गरे। राहुलले ४ ओभरमा ३१ रन खर्चिएर महत्वपूर्ण ४ विकेट लिए । उनले दुवै ओपनर साम र पटेलसहित कप्तान करण र आदिल आलमको विकेट लिए। सैफ हसनले २, मोइन अली, कप्तान हर्मीत सिंह र ललित राजवंशीले एकएक विकेट लिए।
ब्याटिङमा काठमान्डुका लागि भीम सार्कीले सर्वाधिक ३३ रन बनाए। उनले २९ बलमा चार चौका प्रहार गरे। ६ रन जोड्दा ओपनर साम हिजलेटलाई गुमाएको काठमान्डुले १९ रन जोड्दा हरिशंकर शाहलाई गुमाउन पुग्यो। साम एक र हरिशंकर ९ रनमा पभेलियन फर्किए। त्यसपछि पनि काठमान्डुले लगातार विकेट गुमाउँदै गयो। रसिद खान १७, स्मित पटेल १३ सुमित महर्जन १०, कप्तान करण केसी ८, जहानदाद खान ५ रनमा आउट हुँदा मोहम्मद आदिल आलम पहिलो बलमै एनबीडब्लुको शिकार बने। रिपोन मोन्डल ९ रनमा आउट हुँदा शाहव आलम ४ रनमा अविजित रहे।
जनकपुर दोस्रो खेल खेल्दैछ भने काठमाडौं पहिलो खेल खेलिरहेको हो। जनकपुर यसअघि कर्णाली याक्ससँग १९ रनले पराजित भएको थियो।












