प्रहरी प्रधान कार्यालयले सात वटै प्रदेश प्रहरी कार्यालयका प्रमुखलाई नक्सालमा डाकेको छ। अहिले सात वटै प्रदेशका डीआइजीहरू नक्साल पुगेर प्रहरी महानिरीक्षक (आइजीपी) दानबहादुर कार्कीलाई ब्रिफिङ गरिरहेका छन्। 

आइजीपी कार्कीले आजै अपरान्ह दुई बजे पुलिस कोअर्डिनेसन कमिटी (पीसीसी) बैठक बोलाएका छन्। 

प्रहरी नेतृत्वमाथि अवाञ्छित दबाब बढाएको र प्रहरी भित्रैबाट अनावश्यक टिकाटिप्पणी गरिएको भन्दै आइजीपी कार्कीले सात वटै प्रदेशका डीआइजीलाई ध्यानाकर्षण गराउन नक्साल डाकेका हुन्। 

संगठनमा एकले अर्कोलाई हिलो छ्यापाछ्याप गर्दा त्यसले संगठनकै बदनामी बढ्नेतर्फ कार्कीले डीआइजीहरूलाई ध्यानाकर्षणसँगै निर्देशनसमेत दिने तयारी गरेको स्रोत बताउँछ। दिउँसो बस्ने पीसीसी बैठकमा समसामयिक विषयमा छलफल हुने बताइएको छ। 

प्रहरीस्रोतका अनुसार संगठनको चेनअफ कमाण्ड र शान्तिसुरक्षा व्यवस्थापनका गम्भीर विषयहरू नै प्रभावित हुने गरी प्रहरी नेतृत्वमाथि मिडिया ट्रायल हुन थालेको भन्दै प्रदेशका डीआइजीहरूलाई चेतावनीस्वरूप ठोस नीति तय गर्न बैठकमा बोलाइएको हो।