बेलबारी, मोरङ। “स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद” भन्ने नाराका साथ मोरङको बेलबारीमा कोशी प्रदेश स्तरीय ब्याडमिन्टन प्रतियोगिताको आयोजना हुने भएको छ।
बेलबारी नगर ब्याडमिन्टन क्लब र लालभित्ती ब्याडमिन्टन क्लबको संयुक्त आयोजनामा आगामी कार्तिक १४ र १५ गते प्रतियोगिता सञ्चालन हुने भएको हो। प्रतियोगिता बेलबारी–२ स्थित लालभित्ती ब्याडमिन्टन क्लबको कभर्ड हलमा सञ्चालन हुनेछ।
प्रतियोगितामा चार विधामा प्रतिस्पर्धा गराइने आयोजकले जनाएको छ। जसमा कोशी प्रदेश स्तरीय मेन्स डबल्स ‘बी’ डिभिजन, महिला डबल्स ‘बी’ डिभिजन, ४५ वर्षमाथिको भेट्रान्स डबल्स र बेलबारी नगर स्तरीय ‘सी’ डिभिजन रहेका छन्।
मेन्स डबल्स ‘बी’ डिभिजनतर्फ विजेताले ४० हजार रुपैयाँ, उपविजेताले २५ हजार रुपैयाँ तथा तेस्रो हुने दुई टोलीले १०–१० हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछन्।
त्यस्तै, महिला डबल्स र भेट्रान्सतर्फ विजेताले २५ हजार, उपविजेताले १५ हजार र तेस्रो हुने टोलीले ७ हजार ५ सय रुपैयाँ पुरस्कार पाउनेछन्। बेलबारी नगर स्तरीय ‘सी’ डिभिजनमा प्रथम, द्वितीय र तृतीय हुने खेलाडीले क्रमशः १५ हजार, १० हजार र ५ हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गर्ने आयोजकले जनाएको छ।
प्रतियोगिताका खेलहरू विश्व ब्याडमिन्टन महासंघ (BWF) तथा नेपाल ब्याडमिन्टन संघ (NBA) का नियमअनुसार सञ्चालन हुनेछन्। प्रतियोगितामा सहभागी हुन इच्छुक खेलाडी तथा टोलीले कार्तिक १२ गतेभित्र नाम दर्ता गराइसक्नुपर्नेछ।
आयोजकका अनुसार कोशी प्रदेश स्तरीय ‘बी’ डिभिजनमा सेमिफाइनलसम्म पुगेका टोलीका खेलाडीहरूले पुनः जोडी बनाएर सहभागी हुन पाउने छैनन्। प्रतियोगिताका लागि केही खेलाडीलाई समेत विशेष सूचीमा राखी उनीहरूबीच जोडी बनाउन रोक लगाइएको आयोजकले जनाएको छ।
बेलबारी नगरपालिकाको सहयोगमा आयोजना हुन लागेको प्रतियोगिताले स्थानीय तथा प्रदेशस्तरका खेलाडीलाई प्रतिस्पर्धाको अवसर प्रदान गर्नुका साथै ब्याडमिन्टन खेलप्रति युवाको आकर्षण बढाउने अपेक्षा गरिएको छ।
प्रतियोगितासम्बन्धी थप जानकारीका लागि आयोजक समितिका दिनेश पन्त (९८६७१०४८८८) लाई सम्पर्क गर्न सकिनेछ।












