गोप्य सूचना चुहाएको आरोपमा निलम्बित सशस्त्र प्रहरी बलका अतिरिक्त महानिरीक्षक (एआईजी) वंशीराज दाहालमाथि छानबिन गर्न समिति गठन गरिएको छ।

गृह मन्त्रालयका अनुसार सशस्त्र प्रहरी प्रधान कार्यालय, हल्चोकस्थित मानव स्रोत विभागमा कार्यरत एआईजी अन्जनीकुमार पोखरेललाई छानबिनको जिम्मेवारी दिइएको हो। छानबिन समितिमा पोखरेल मात्रै सदस्य रहेका छन्।

सशस्त्र प्रहरी नियमावलीमा तोकिएको व्यवस्थाअनुसार दाहालमाथि छानबिन गर्ने जिम्मेवारी दिइएको गृह मन्त्रालय स्रोतले जनाएको छ। छानबिनका लागि तीन दिनको समय तोकिएको छ। सो अवधिमा प्रतिवेदन बुझाएपछि त्यसकै आधारमा आवश्यक कारबाही प्रक्रिया अघि बढाइनेछ।

दाहालमाथि गोप्य सूचना चुहाएको आरोप छ। पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा पक्राउ पर्दा उनी काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकु पुगेका थिए। त्यस्तै, झापा घर भएका एक बिचौलियासँग समेत उनको सम्पर्क रहेको देखिएको आरोपमा अनुसन्धान अघि बढाइएको हो।

निलम्बित दाहाल यसअघि सशस्त्र प्रहरीको सीमा विभाग प्रमुखका रूपमा कार्यरत थिए।

यसैबीच, सरकारले म्याद थप नगरेको अवस्थामा उनी यही २७ असोजको राति १२ बजेदेखि अनिवार्य अवकाशमा जाने तयारीमा थिए। सशस्त्र प्रहरी नियमावली, २०७२ को दफा ६५ (ग) अनुसार एआईजीको पदावधि चार वर्षको हुन्छ। दाहाल २०७९ वैशाख २८ गते एआईजीमा बढुवा भएका थिए।

सो व्यवस्थाअनुसार दाहालको पदावधि थप एक वर्ष बढाउन सशस्त्र प्रहरी प्रधान कार्यालयले गृह मन्त्रालयमा सिफारिससमेत गरेको थियो। तर, म्याद थपसम्बन्धी प्रक्रिया अघि बढिरहेकै बेला उनी गोप्य सूचना चुहाएको आरोपमा निलम्बनमा परेका हुन्।