सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले प्रधानमन्त्री बालेन शाह र आफूबीच कुनै मनमुटाव नभएको दाबी गर्दै त्यसका लागि 'औंठाछाप लगाउनुपरे पनि तयार छु' भनेका छन्।

केही समययता प्रधानमन्त्री र पार्टी सभापतिको सम्बन्ध चिसिएको चर्चा र शंका–उपशंकाबीच लामिछानेले शनिबार केन्द्रीय समिति बैठकमा आफूहरूबीच कुनै फाटो नआएको दाबी दोहोर्‍याएका हुन्।

'तपाईंहरूले बाहिर मिडियामा रवि र बालेनको बीचमा फाटो भनेर सुन्नुहुन्छ, पढ्नुहुन्छ होला। त्यस्तो केही पनि छैन। कुनै ठाउँमा औंठाछाप लगाउने भए म लगाउँछु। पाँच वर्ष कसैले पनि बालेन र मेरो बीचमा फाटो ल्याउन सक्दैन। यो सरकारले पाँच वर्ष काम गर्छ,' सभापति लामिछानेको भनाइ उद्धृत गर्दै बैठकमा सहभागी एक केन्द्रीय सदस्यले भने।

सरकार, मन्त्री, पार्टी र संगठनका विषयमा धारणा राख्ने क्रममा उनले विशेषगरी आफू र प्रधानमन्त्री शाहबीच फाटो आएको चर्चाबारे स्पष्टीकरण दिएको हामीले कुरा गरेका केन्द्रीय सदस्यहरूको भनाइ छ।

लामिछानेले आफूलाई अहिले प्रधानमन्त्री बन्ने कुनै चासो नरहेको पनि बताएका थिए।

'मलाई अहिले प्रधानमन्त्री बन्ने लोभ छैन। त्यतातिर मैले सोचेको पनि छैन,' लामिछानेको भनाइ उद्धृत गर्दै ती केन्द्रीय सदस्यले भने, 'पार्टी सभापतिको कुर्सीबाट हेर्दा प्रधानमन्त्री पद धेरै सानो कुरा हो।'

उनले अगाडि भने, 'उहाँले सरकार, मन्त्री, पार्टी र संगठनबारे धेरै कुराहरू भन्नुभयो। सम्झाउनुभयो। विशेषगरी प्रधानमन्त्री बालेनसँग फाटो आएको भनेर जसरी बाहिर भनिएको छ, त्यस्तो नभएको क्लियर पार्नुभयो।'