चर्चित हास्य कलाकार शिवशंकर रिजाल ‘जोगिन्दर पानवाला’ ले नेपाली कांग्रेसको केन्द्रीय सदस्यमा उम्मेदवारी दिने भएका छन् । आजबाट सुरु हुन लागेको नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सर्लाही क्षेत्र नम्बर ४ बाट केन्द्रीय महाधिवेशन प्रतिनिधि बनेका रिजालले पहिलो पटक केन्द्रीय सदस्यमा उम्मेदवारी दिन लागेका हुन्।
सर्लाही क्षेत्र नम्बर ४ बाट उनी तेस्रो पटक महाधिवेशन प्रतिनिधि बनेका हुन्। नेपाली कांग्रेसको शुभेच्छुक संस्था सांस्कृतिक महासङ्घमा महामन्त्री समेत रहेका रिजालले कला क्षेत्रका मुद्दा राजनीतिक तहमा प्रभावकारी रूपमा उठाउन नेपाली कांग्रेसको केन्द्रीय सदस्यमा उम्मेदवारी दिन लागेको बताए।
नेपाल विद्यार्थी सङ्घ हुँदै नेपाली कांग्रेससँग जोडिएको आफ्नो राजनीतिक यात्रालाई अब पार्टीको केन्द्रीय तहसम्म अघि बढाउने उद्देश्यले १५औँ महाधिवेशनमा केन्द्रीय सदस्यमा उम्मेदवारी दिन लागेको उनको भनाइ छ।












