नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत मोरङ क्षेत्र नम्बर ४ (क) को प्रदेश कार्यसमिति उपसभापति पदमा लक्ष्मी नारायण चौधरी (एलएन) ले उम्मेदवारी घोषणा गरेका छन्।बेलबारी नगरपालिका–७ निवासी चौधरीले पार्टीको संगठन निर्माण, लोकतान्त्रिक आन्दोलन तथा स्थानीय तहमा आफूले निर्वाह गरेको भूमिकालाई आधार बनाउँदै उपसभापति पदमा उम्मेदवारी दिएको बताएका छन्।चौधरीका अनुसार आफू लामो समयदेखि नेपाली कांग्रेसको संगठनमा सक्रिय रहँदै क्षेत्रीय प्रतिनिधि तथा बेलबारी नगर सदस्यको जिम्मेवारीमा काम गरिसकेका छन्। लोकतान्त्रिक आदिवासी जनजाति संघ बेलबारीको नगर सचिवका रूपमा समेत काम गरेको उनले बताएका छन्।

१४औँ महाधिवेशनमा क्षेत्रीय प्रतिनिधि र नगर सदस्यका रूपमा निर्वाचित भएर पार्टीको सांगठनिक गतिविधिमा सक्रिय रहेको उल्लेख गर्दै चौधरीले आगामी दिनमा पार्टीलाई थप समावेशी, गतिशील र कार्यकर्तामैत्री बनाउन भूमिका खेल्ने बताएका छन्।मोरङ–४ (क) को संगठनलाई थप सुदृढ बनाउने, कार्यकर्ताको हकहितका विषय उठाउने तथा अनुभवी र युवा पुस्ताबीच समन्वय गर्दै अघि बढ्ने आफ्नो उद्देश्य रहेको चौधरीले बताएका छन्।

नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत विभिन्न तहका अधिवेशनको प्रक्रिया अघि बढिरहेको छ। कांग्रेसको केन्द्रीय निर्वाचन समितिले प्रदेश सभा क्षेत्रीय अधिवेशनका लागि असोज १० गतेको कार्यतालिका रहेको छ ।