काठमाडौं विश्वविद्यालय (केयू) का संस्थापक उपकुलपति तथा शिक्षाविद् प्रा.डा. सुरेशराज शर्माको राजकीय सम्मानका साथ अन्त्येष्टि गरिएको छ।
बिहीबार पशुपति आर्यघाटमा शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले स्व. शर्माको पार्थिव शरीरमा राष्ट्रिय झण्डा ओडाएर श्रद्धाञ्जली अर्पण गरे। अन्तिम बिदाइका क्रममा नेपाल प्रहरीको एक टुकडीले सलामी अर्पण गरेको थियो।
शिक्षा तथा खेलकुद मन्त्रालयको अनुरोधमा गृह मन्त्रालयले निर्णय गरेपछि शर्माको राजकीय सम्मानका साथ अन्त्येष्टि गरिएको मन्त्रालयले जनाएको छ।
शिक्षामन्त्री पोखरेलसहित मन्त्रालयका प्रमुख सल्लाहकार शैलेन्द्र झा लगायतका पदाधिकारी आर्यघाट पुगेर शर्माप्रति अन्तिम श्रद्धाञ्जली अर्पण गरेका थिए।
मन्त्री पोखरेलले शर्माको निधनले शिक्षा क्षेत्रमा अपूरणीय क्षति पुगेको बताउँदै शोकसन्तप्त परिवार, आफन्त, सहकर्मी तथा काठमाडौं विश्वविद्यालय परिवारप्रति मन्त्रालयका तर्फबाट समवेदना व्यक्त गरे।












