संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन अमेरिका प्रस्थान गर्नुअघि प्रधानमन्त्री बालेन शाह र प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेताहरूबीच भेटवार्ता भएको छ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्‍को कार्यालय, सिंहदरबारमा भएको उक्त छलफल राष्ट्रसंघको महासभामा नेपालका तर्फबाट प्रस्तुत गरिने एजेन्डा र पूर्वतयारीका विषयमा केन्द्रित थियो। संयुक्त राष्ट्रसंघमा देशको तर्फबाट प्रभावकारी प्रस्तुति र साझा धारणा बनाउने उद्देश्यले प्रधानमन्त्री शाहले प्रतिपक्षी दलका नेताहरूलाई छलफलका लागि बाेलाएका हुन्।

उक्त भेटघाटमा नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बे र नेता विश्वप्रकाश शर्माको उपस्थिति रहेको थियो। छलफलका क्रममा प्रतिपक्षी दलका नेताहरूले महासभामा नेपालको हित अनुकूलका विषयहरू सशक्तरूपमा उठाउन सुझाव दिएका छन्।

नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री शाह भोलि संयुक्त राज्य अमेरिकातर्फ प्रस्थान गर्ने कार्यक्रम रहेको छ।