ताप्लेजुङको पाथीभरामा भदौ महिनामा साढे १३ लाख भन्दा बढी भेटी सङ्कलन भएको छ। पाथीभरामा भक्तजनहरूले भेटीको रूपमा चढाएको नगद साढे १३ लाख भन्दा बढी भेटी सङ्कलन भएको हो। 
पाथीभरा क्षेत्र विकास समितिले बुधवार सार्वजनिक गरेको विवरणअनुसार भदौ महिनाको अवधिमा १३ लाख ६७ हजार रुपैयाँ सङ्कलन गरिएको छ। समितिका कार्यकारी निर्देशक प्रजिन हाङबाङका अनुसार भदौमा छ हजार १२३ जना तीर्थयात्रीले पाथीभराको दर्शन गरेका छन्। 
चालु आर्थिक वर्षको साउनमा भने तीन लाख १८ हजार ५०० रुपैयाँ भेटी सङ्कलन भएको थियो। गत आर्थिक वर्षको साउनमा १० लाख ३९ हजार भेटी सङ्कलन भएको समितिको तथ्याङ्कमा उल्लेख छ।
पाथीभरामा भेटीबाहेक दर्शनार्थीले शैक्षिक सामग्री, सुनचाँदी, माना–पाथी, त्रिशूल, घण्टी, सिक्कालगायतका सामग्रीसमेत चढाउने गरेका छन्। यस्ता सामग्री समितिका कर्मचारीले नेपाल प्रहरीको रोहबरमा सङ्कलन गरी सुरक्षित भण्डारण गर्ने गरेका छन्।
समितिका अनुसार गत आर्थिक वर्षभरि पाथीभरामा दुई लाख ५२ हजार ७८ जना दर्शनार्थी पुगेका थिए। सो अवधिमा चार करोड ८२ लाख तीन हजार ८५५ भेटी सङ्कलन भएको थियो।
समुद्र सतहदेखि तीन हजार ७९४ मिटरमा अवस्थित पाथीभरामा पुग्नका लागि काफ्ले पाटीसम्म यातायातका साधनमार्फत पुग्न सकिन्छ। काफ्ले पाटीदेखि ५ किलोमिटर पदमार्गको प्रयोग गरे पाथीभराको मुख्य पुजा धाम पुग्न सकिन्छ।