परराष्ट्रमन्त्री शिशिर खनालले नेपालको जलवायु परिवर्तनका मुद्दाहरू तथ्यका आधारमा विश्वसामु स्थापित गर्नुपर्ने बताएका छन्।

सिंहदरबारमा बिहीबार बसेको प्रतिनिधिसभाअन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति बैठकमा मन्त्री खनालले अन्तर्राष्ट्रिय मञ्चहरूमा भावनात्मक कुराले मात्र नतिजा नआउने हुँदा डाटा, प्रमाण र वैज्ञानिक तथ्यका आधारमा नेपालका मुद्दाहरू स्थापित गर्नुपर्ने बताएका हुन्।

आगामी हप्ता प्रधानमन्त्रीको नेतृत्वमा जाने प्रतिनिधिमण्डलले संयुक्त राष्ट्रसंघको महासभामा सहभागिता जनाउने उनले जानकारी दिए। हिमालय क्षेत्रका सम्बन्धमा देशभित्र र बाहिर भएका अध्ययन–अनुसन्धानलाई एकीकृत गरी राष्ट्रिय धारणामा एकरूपता ल्याउनुपर्नेमा जोड दिए। जोखिम न्यूनीकरणका लागि सीमापार सहकार्य र विपद् पूर्वतयारीमा विशेष ध्यान दिनुपर्ने उनको भनाइ छ। 

“प्राकृतिक विपद्ले विगत २५–३० वर्षदेखि बनाइएको नेपालको समृद्धिको मोडलमा नै गम्भीर धक्का पुर्‍याएकाले विकास रणनीतिमा सामूहिक पुनर्विचार गर्नुपर्ने आवश्यकता छ,” उनको धारणा छ।  

केवल अन्तर्राष्ट्रिय मञ्चमा गएर भाषण गर्दैमा दीर्घकालीन उपलब्धि हासिल नहुने भएकाले संस्थागत सुदृढीकरण आवश्यक रहेको उनको भनाइ छ। 

उनले जलवायु कूटनीति हाल वातावरण मन्त्रालयको दायरामा बढी सीमित रहेको उनले बताए। परराष्ट्र मन्त्रालय संस्थागत रूपमा सक्रिय हुन नसकेको अवस्थालाई सुधार गरी एकीकृत सरकारी संयन्त्र निर्माण गर्नुपर्ने बताए।