भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनाका लागि निजी तथा आवासीय विद्यालय संगठन नेपाल (प्याब्सन) मोरङले ७४ लाख ४५ हजार ७५१ रुपैयाँ राहत रकम संकलन गरेको छ।

प्याब्सन मोरङका अध्यक्ष जगत बस्नेतका अनुसार प्याब्सन केन्द्रीय कार्यसमितिको निर्देशनअनुसार मोरङ जिल्लाका विभिन्न स्थानीय तहसँग समन्वय गरी सदस्य विद्यालयमार्फत राहत रकम संकलन गरिएको हो। विद्यालयका सञ्चालक, शिक्षक, कर्मचारी, विद्यार्थी, अभिभावक तथा सहयोगीहरूबाट उक्त रकम संकलन गरिएको अध्यक्ष बस्नेतले जानकारी दिएका छन्।

संकलित रकम एकमुष्ट रूपमा प्याब्सन केन्द्रीय राहत कोषमार्फत प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने गरी पठाइएको बस्नेतले बताएका छन्। उनका अनुसार बाढीबाट प्रभावित परिवारलाई तत्काल राहत उपलब्ध गराउनुका साथै पुनःस्थापनामा सहयोग पुर्‍याउने उद्देश्यले अभियान सञ्चालन गरिएको हो।

प्याब्सन मोरङले विराटनगर महानगरपालिकासहित जिल्लाका विभिन्न पालिकाका विद्यालयबाट रकम संकलन गरेको जनाएको छ। विवरणअनुसार विराटनगरका ३३ विद्यालयबाट २३ लाख १३ हजार ५२७ रुपैयाँ, सुन्दरहरैँचाका २५ विद्यालयबाट १५ लाख ७० हजार ३१९ रुपैयाँ, बेलबारीका २० विद्यालयबाट ९ लाख ६८ हजार ३७२ रुपैयाँलगायत रकम संकलन भएको छ।

त्यस्तै पथरीबाट ६ लाख ९० हजार ७५१, उर्लाबारीबाट ३ लाख ८३ हजार ३१७, मिक्लाजुङबाट १ लाख ७९ हजार ०३३, रतुवामाईबाट २ लाख ४६ हजार ४७७, सुनबर्शीबाट६२ हजार ९२५ रंगेलीबाट ४ लाख ४६ हजार ६०३ धनपालथान बाट   २५ हजार २५ ग्रामथानबाट १० हजार १००      लेटाङबाट २ लाख ६९ हजार ०१३ कटहरी बाट २७ हजार २३५रुपैयाँलगायत विभिन्न पालिकाबाट सहयोग प्राप्त भएको अध्यक्ष बस्नेत ले जानकारी ।

अध्यक्ष बस्नेतले विपद्को समयमा निजी विद्यालय क्षेत्रले पनि सामाजिक उत्तरदायित्व निर्वाह गर्दै पीडितको सहयोगमा हातेमालो गरेको बताए। “बाढीपीडितको राहत तथा पुनःस्थापनामा सहयोग पुर्‍याउने उद्देश्यले विद्यालय परिवारबाट संकलित रकम सम्बन्धित राहत कोषमा पठाएका छौँ,” बस्नेतको भनाइ छ।