गृहमन्त्री सुधन गुरुङले राजनीतिमा नयाँ पुस्ता सिक्न नभई सिकाउन आएको दाबी गरेका छन्। जेन–जी सहिद दिवसका अवसरमा जेन–जी सहिद कल्याणकारी समाजले आयोजना गरेको कार्यक्रममा उनले नयाँ पुस्ता पुरानो राजनीतिक शैली सिक्न नभई त्यसलाई सच्याउन आएको बताए।

‘हाम्रो भविष्य हामी आफैं कोर्नेवाला छौं, अरुलाई कोर्ने दिनेवाला छैनौं। हामी राजनीति सिकाउन आएको, सिक्न आएको होइन। तपाईंहरूको राजनीतिले हाम्रो जनतालाई राज गर्न सिकायो। यो युवाहरूको पुस्ताको सरकार हो हामी सेवा गर्न सिकाउँछौँ,' उनले भने, 'यही हो राजनीति, नयाँ राजनीति।'

आफूहरु चुनाव लडेर जितेर दुई तिहाइको बहुमत ल्याएर आएको उनले बताए। 'राजनीतिमा हामी धेरै परिपक्व छौं भनेर जो नेतागणहरू हामीलाई भाषण सुनाउनुहुन्छ उहाँहरूलाई भन्न चाहन्छु, सन्देश दिन चाहन्छु, त्यो संस्कार भत्काउन आएको नयाँ पुस्ताको सरकार हो,’ उनले भने। 

उनले नेपाललाई स्वीट्जरल्यान्ड वा सिंगापुर बनाउने नभई आफ्नै पहिचानसहितको नेपाल निर्माण गर्ने बताए।